कृषि

कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउन मुख्यमन्त्रीको जोड

रुपन्देही । कृषि, पशुपक्षी, सहकारी र भूमि व्यवस्थासँग सम्बन्धित नीति निर्माण र सहकार्यका लागि आजदेखि बुटवलमा प्रदेश स्तरीय दुई दिने अन्तरक्रिया शुरु भएको छ ।

प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको “सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका सरोकारवालासँगको नीति निर्माण र सहकार्यको क्षेत्र” सम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री शंकर पोखरेलले कृषिमा आधारित सहकारीलाई नै प्राथमिकता दिएर काम गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले कृषि बीमा र पशु बीमाको झन्झटिलो प्रक्रियालाई सहज बनाउन आवश्यक भएकामा जोड दिँदै बालीमा हुने नोक्सानीको क्षतिपूर्ति कृषकको सहज र सरल पहुँचमा हुनुपर्छ भने ।
मुख्यमन्त्री पोखरेलले कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि, पशुपक्षी, सहकारी र भूमि व्यवस्थासँग सम्बन्धित छलफलले कृषकको परम्परागत खेती गर्ने प्रणालीलाई रुपान्तरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कृषि, पशुपक्षी, सहकारी र भूमि व्यवस्था मन्त्रालयका सचिव यम नारायण देवकोटाले कृषकसँग आधुनिक प्रविधिको उपलब्धता, भूमि व्यवस्थापन, बाँझो जग्गाको सदुपयोग, पशु वधशाला लगायतका विषयमा छलफल गरिने जानकारी दिए ।

कृषि विज्ञ अरुण केसीले जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा ¥हास आएको उल्लेख गर्दै प्रदेश नं ५ मा धान र गहुँको उत्पादन बढेपनि अन्य बालीको उत्पादन बढ्न नसकेको तथ्य अघि सारे ।

मन्त्रालयका उप–सचिव भक्तिराम मरासिनीका अनुसार अन्तरक्रिया भूमिको हदबन्दी निर्धारण नीति, गुठी जग्गाको व्यवस्थापनसम्बन्धी नीति, चक्लाबन्दी सम्बन्धी नीति लगायतका विषय केन्द्रित हुनेछ ।

पशु विकास महाशाखाका प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत नन्दलाल चौधरीले पशुपक्षी फार्मको स्थापना र पोल्ट्री व्यवसायको नियमन तथा अनुगमनको विषयमा पनि छलफलमा आउने बताए ।

अर्घाखाँची, गुल्मी, दाङ, प्युठान, बाँके, कपिलवस्तु, बर्दिया, नवलपरासी, रुपन्देही लगायतका जिल्लाका बाख्रा फार्म सञ्चालक, मत्स्य फार्म सञ्चालक, वरिष्ठ कृषि विकास अधिकृत, वरिष्ठ पशु चिकित्सक, मौरीपालक महासंघ, सहकारीका प्रतिनिधिहरु अन्तरक्रियामा सहभागी छन् ।