शिक्षा

एक वर्ष पुगेका अवसरमा भक्तपुर नगरपालिकाले यसो गर्यो !

भक्तपुर । स्थानीय तहमा आफू निर्वाचित भएको एक वर्ष पुगेका अवसरमा भक्तपुर नगरपालिकाले जनस्वास्थ्य कार्यालयको आकस्मिक कक्ष र जनज्योति पुस्तकालयको मंगलबार उद्घाटन भएको छ ।

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नगरपालिकाले वडा नं २ स्थित देको–मिवा–इटापाके आवास योजनाको कार्यालय रहेको भवनमा सञ्चालनमा ल्याएको जनज्योति पुस्तकालयको उद्घाटन गरे । सिसी क्यामरासमेत जडान गरिएको उक्त पुस्तकालयमा साहित्य, दर्शन, इतिहासलगायत नेपाली र अंग्रेजी भाषाका करीब रु पाँच लाख बराबरका नयाँ र पुराना पुस्तक राखिएको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

त्यसैगरी प्रमुख प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाद्वारा च्यामसिंहमा सञ्चालित जनस्वास्थ्य केन्द्रमा सञ्चालित आकस्मिक कक्षको उद्घाटन गर्नुभयो । पच्चीस श्ययाको ख्वप अस्पतालको निर्माणमा जुटेको नगरपालिकाले केन्द्रको आकस्मिक कक्ष सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले च्यामसिंह, व्यासी र भगवती स्थानमा सञ्चालित केन्द्रमा दैनिक ३०० बिरामीलाई सेवा दिँदै आएको छ । च्यामासिंहस्थित केन्द्रबाट स्त्रीरोग, छाला, नाक–कान घाँटी, हाडजोर्नी, बालरोग, छातीरोग, मानसिक रोगलगायतका विशेषज्ञ सेवा उपलब्ध गराएको उनको भनाइ थियो । स्थानीयवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालित केन्द्रबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड), सिआर एक्स–रे र आधुनिक प्रयोगशाला सेवा प्रदान गर्ने तयारी भइरहेको उनले बताए ।