खेलकुद

आईपीएलमा कमाल गरेका सन्दिपले स्वदेश फर्केपछि के भने ?

काठमाडौं । विश्वकै प्रतिष्ठित एवम् ठूलो राशिको क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) मा आफ्नो स्पिनको जादू देखाएर चर्चा बटुलेका नेपाली खेलाडी सन्दिप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् । १७ बर्षिय सन्दिप अपराह्न स्वदेश फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै पहिलो खेलमा राम्रो गरेकाले नै बाकी खेलमा मौका पाएको प्रतिक्रिया दिएका हुन् ।

आईपिएल यात्रा कस्तो रह्यो भन्ने प्रश्नको उत्तर दिदैँ सन्दिपले भने, ‘आइपिएलको मेरो यात्रा अविष्मरणीय रह्यो, पाएको अवसर राम्रोसँग सदुपयोग गरेँ ।’ ‘आईपीएलमार्फत नेपाललाइ चिनाउने राम्रो मौका पाएँ,’उनले भने, ‘आगामी दिनमा अन्य नेपाली खेलाडी पनि आईपीएलमा देख्न पाउँ ।’ सन्दिपलाई स्वागत गर्न कप्तान पारस खड्कासहित खेलाडी र समर्थक विमानस्थल पुगेका थिए । आईपीएलमा दिल्लीको अन्तिम ३ खेल खेलेका उनले ५ विकेट लिएका थिए ।