उर्जा

ऊर्जा क्षेत्रमा चिनियाँ सहकार्यको तयारीबारे छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र चीनबीच ऊर्जाका क्षेत्रमा गरिने सहकार्यका विभिन्न क्षेत्रमा आवश्यक तयारी गर्न चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई आग्रह गरेका छन् ।

सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेको, त्यसका लागि प्रमुख आधार नै ऊर्जा भएकाले चीन सरकारका निकाय तथा अधिकारीसँग आवश्यक समन्वय गर्न मन्त्री पुनले आग्रह गरेका हुन्।

ऊर्जा मन्त्रालयमा आज राजदूत पौड्यालसँग छलफल गर्दै मन्त्री पुनले ऊर्जाका विभिन्न क्षेत्रमा सहकार्यका लागि प्रयास भइरहेको र लगानी भित्र्याउनसमेत प्रयास भइरहेको बताएका थिए । उनले नेपाल र चीनबीच गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने सहमति भइसकेको छ । यसबारे नेपाल विद्युत् प्राधिकरणले नेपालतर्फको सम्भाव्यता अध्ययन गरिसकेको उल्लेख गरेका थिए ।

मन्त्री पुनले इनर्जी को–अपरेसनमा नेपाल सकारात्मक रहेको भन्दै त्यसका लागि आवश्यक तयारी गर्न राजदूत पौडेललाई आग्रह गरेका थिए । राजदूत पौड्यालले चीनले पछिल्लो एक दशकमा एक लाख मेगावाट विद्युत् उत्पादन गरेकाले यसबाट नेपालले प्रविधि तथा सीप भित्र्याउन सक्ने बताए ।

चीन नेपालमा तीन/तीन वटा ठूला जलविद्युत् तथा प्रसारण लाइन परियोजना निर्माणमा सहयोग गर्न इच्छुक रहेको पनि राजदूत पौडेलले अवगत गराएका थिए । जलविद्युत् तथा प्रसारण लाइन आयोजनाको विवरण तयार गरेर पठाउन पनि राजदूत पौडेलले मन्त्री पुनलाई आग्रह गरे ।