विचित्र संसार

यी सुन्दरीले आफूलाई गोली हान्नेलाई दिइन् ‘फ्लाइङ्ग किस’ !

पेरिस । मार्गरेट गीर्तोइदा जेले अर्थात् माता हारीलाई आजभन्दा ठिक सय वर्ष अघि मृत्युदण्ड दिइएको थियो । उनी जासूसीका लागि विश्वमै प्रख्यात सुन्दरी मानिन्थिन् ।

उनलाई झण्डै ५० हजार जनाको मृत्युका लागि दोषी ठहर गर्दै फ्रान्सले मृत्युदण्ड दिएको हो । उनले आफ्नो सौन्दर्यको फाइदा उठाउँदै फ्रान्स र जर्मनीका लागि दोहोरो जासुसी गरेकी थिइन् ।

उनी प्रख्यात नृत्यांगना थिइन् । पहिलो विश्वयुद्धका क्रममा उनी पेरिसमा नृत्यांगनाका रुपमा प्रख्यात थिइन् । उनको नृत्य हेर्नका लागि सेनाका उच्च तहका अधिकारी तथा ठूला नेताहरुसमेत आउने गर्दथे ।

यही समयमा उनले एक देशको गोप्य सूचना अर्को देशलाई उपलब्ध गराउने काम थालिन् । भनिन्छ, त्यतिबेला जर्मनका राजकुमारसहित कयौं प्रभावशाली व्यक्तित्वसँग उनको सम्बन्ध थियो ।

उनको विवाह इन्डोनेसियामा तैनाथ नेदरल्याण्डको सेनाका एक अधिकारीसँग भएको थियो । विवाहपछि उनीहरुले केही समय जाभा प्रान्तमा गुजारेका थिए । त्यहाँ पनि उनी एउटा नृत्य समूहमा आवद्ध भइन् । सोही क्रममा उनले आफ्नो नाम माता हारी राखेकी थिइन् ।

यत्तिकैमा फ्रान्स सरकारले उनलाई पैसाको बदलामा जासुसी गर्न प्रस्ताव गरेको थियो । प्रथम विश्वयुद्धमा माता हारीकै माध्यमबाट फ्रान्सले जर्मनीको कयौं महत्वपूर्ण सूचना हासिल गरेको थियो ।

रकम आर्जन गर्ने लालचमा उनले जर्मनीका लागिसमेत जासुसी गर्न थालिन् । एकातिर जर्मनीलाई फ्रान्सको गोप्य सूचना दिने र अर्कोतिर फ्रान्सलाई जर्मनीको गोप्य सूचना दिने दोहोरो भूमिकामा उनी सक्रिय भइन् ।

सन् १९१७ मा फ्रान्सको गुप्तचर निकायलाई माता हारीको दोहोरो भूमिकाबारे जानकारी हुनासाथ उनलाई नियन्त्रणमा लियो । फ्रान्सको सेनाले उनीविरुद्ध यथेस्ट प्रमाण पेश गरेको थियो । सोही प्रमाणमा उनलाई ५० हजार जनाको मृत्युको जिम्मेवार ठहर्‍याइएको थियो ।

१५ सेप्टेम्बर, १९१७ मा उनलाई गोली हानी मृत्युदण्ड दिइयो । उनी त्यतिबेला ४१ वर्षकी थिइन् ।

समाचार एजेन्सीहरुका अनुसार गोली हान्नका लागि तैनाथ सुरक्षाकर्मीका सामून्ने उनलाई उभ्याइयो । गोली हान्नु अघि उनलाई आँखा चिम्लिन भनिएको थियो तर उनले गोली हान्न तयार सैनिकलाई नै ‘फ्लाइङ्ग किस’ दिएकी थिइन् । -एजेन्सी