प्रवास

‘नेपाल डे परेड’ प्रदर्शनको तेश्रो परेड भोली न्यूयोर्कमा

काठमाडौं । नेपाली जनसम्पर्क समिति, अमेरिका, नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका र प्रवासी नेपाली मंच, अमेरिकाको संयुक्त संयोजनमा अन्य संघ,संस्थाहरु समेत आयोजक रहेर तीन वर्ष पहिले सुरु गरिएको नेपाल डे परेड प्रदर्शनको तेश्रो परेड भोली न्यूयोर्कमा आयोजना हुँदैछ । नेपालको पहिचान र प्रवासमा नेपाली परिचय र भावनासंग जोडिएको या परेड सोमबार अमेरिकाको ठूलो मध्येको एक सहर न्यूयोर्कमा हुने भएको हो ।

नेपाली जनसम्पर्क समितिले एक विज्ञप्ती निकाल्दैँ नेपाल डे परेड सम्बन्धनी जानकारी गराएको छ । समितिका महासचिव मुनेन्द्र नेम्बाङद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, हाम्रा लागि राष्ट्रियता भन्दा ठूलो अन्य कुनै विषय छैन, राष्ट्रियताको विषयमा हामी सबै नेपाली एक छौं, हुनेछौं र रहनेछौं, राष्ट्रियता नेपाली जनसम्पर्क समिति, अमेरिकाको आफ्नो आदर्श हो ।

राजनीतिक विचारबाट अभिप्रेरित नेपाली जनसम्पर्क समिति, अमेरिका विदेशमा नेपालको पहिचान विस्तारका लागि क्रियाशील रहेको बताईएको छ ।

शानिबार जारी विज्ञप्तीमा लेखिएको छ, मातृभूमि नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रीक दल नेपाली काँग्रेसका सदस्य हामी हाम्रा संस्थापक महामानव वीपी कोइरालाले राष्ट्रियताको सन्दर्भमा व्याख्या गर्नु भएको सिद्धान्तप्रति अटल विश्वास राख्दछौं , राष्ट्रियताको विषयमा हाम्रो प्रष्ट विचार छ,सबैभन्दा माथि राष्ट्र र राष्ट्रियता नै हो । यही राष्ट्रिय पहिचानको प्रवर्द्धन र सम्वर्धन गर्ने जुनसुकै प्रयासमा पनि नेपाली जनसम्पर्क समिति, अमेरिका सधैं अन्य सबै संघ, संस्था, अभियन्ता र नेपाली समुदायसंग हातेमालो गर्दै यसको अग्रसरता लिन अग्रसर छ र रहने कुराको सबैलाई अवगत गराउन चाहन्छौं ।

विज्ञप्तीमा भनिएका बाकी कुरा जस्ताको त्यस्तैः
तर यस पटकको नेपाल डे परेड गराउने सम्बन्धमा, सुरूका दिन देखिनै संस्थापक आयोजक संस्था लगायत अन्य संघसंस्था समेतलाई पाखा लगाएर केहि व्यक्तिको
नाममा खोलिएको कम्पनी मार्फत नेपाल डे परेड गर्न खोज्दा विवाद बढेको र नेपाली समुदाय नै बिभाजित बनेको छ । यो अत्यन्तै ,दुःखको कुरा हो ।यस प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाको गम्भीर ध्यानआकृष्ट भएको छ ।

किनकि नेपाली जनसम्पर्क समिति अमेरिका नेपाली समुदायलाई तोड्न होइन सदैव जोड्न चाहन्छ । यो विषय कुनै व्यक्तिको होइन,यो विषय कुनै स्वार्थ समूहको होइन । राष्ट्रियता जस्तो सर्वोपरी संवेदनशील विषयलाई जसरी भावनात्मक रुपमा सौदाबाजीको विषय बनाइएको छ त्यसका प्रति हाम्रो आपत्ति छ । हामी यस्ता खाले सबै गतिविधिको निन्दा गर्दै, भोलिका दिनमा यस्ता प्रवृतिको बिरूद्दमा एकजुट हुन सबै संघसस्था र समुदायलाई आग्रह समेत गर्दछौ । सबैलाई समेटेर नेपाल डे परेड गराउनका निमित्त नेपाली जनसम्पर्क समिति अमेरिकाले खेलेको भुमिका यहाँहरूलाई अवगत नै छ ।

नेपाल आदिवासी जनजाती महासंघ अमेरिका , शेर्पा किद्वुक लगायत अन्य नेपाल डे परेडसंग विमति राख्ने सबै संघ संस्थाहरू समेतलाई परेडमा सहभागि गराएर समुदायलाई जोडेर जानुपर्छ भन्नेमा हामी प्रष्ट छौं । नेपाल डे परेडको हामी सबै हिस्सेदार हौँ भन्ने सबैका लागि आत्मसम्मानको विषय बन्नुपर्छ । यद्यपि गत वर्षको दोश्रो परेड डे आयोजना गर्दा पनि संस्थापक आयोजकहरु मध्ये नेपाली जनसम्पर्क समितिलाई बाहिर राखेर अघि बढ्ने चेष्टा भएको हो । यद्यपि हामी सबैले त्यस्ता चेष्टा र हर्कतलाई किनारामा राख्दै परेड सफल बनाउन सहभागी भएका थियौं ।

तर आज फेरि त्यही प्रयास दोहोरिएकोमा हामी यस्ता खाले सबै हर्कत निन्दनीय छ भन्दै, नेपाली राष्ट्रियतासंग भावनात्मक रुपमा जोडिएको भोलीको नेपाल डे परेडमा नेपाली जनसम्पर्क समिति अमेरिका सहभागी हुनेछ र अन्य संघ,संस्थाका पदाधिकारी र समुदायका सदस्यहरुलाई समेत सबैखाले विमतिहरुलाई किनारामा राखेर नेपाल डे परेडमा सहभागिताका लागि अपील गर्दछौं ।

अन्त्यमा नेपाल डे परेड सम्पन्न भैसकेपछि हामी यसका विषयमा हाम्रा विमतिहरुलाई संस्थापक आयोजक संस्थाहरुको आपसी छलफलपछि साझा दृष्टिकोण बनाएर सम्बोधन गर्नेछौं । नेपाल डे परेडमा विशुद्ध राष्ट्रिय भावना बोकी सहभागी हुँदैछौं र तपाईंहरु सबैलाई यसै भावनाका साथ सहभागी हुन र हाम्रो नेपाली स्वाभिमान र पहिचान उँचो बनाउने यो पहलमा हातेमालो गर्न अनुरोध गर्दछौं ।

नेपाली जनसम्पर्क समिति, अमेरिका परिवार