प्रवास

सुशील कोइराला फाउन्डेसनलाई गैरआवासीय नेपाली संघको सहयोग

काठमाडौँ । शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्रमा अभियान सञ्चालन गर्नका लागि सुशील कोइराला मेमोरियल फाउन्डेसनलाई गैरआवासीय नेपाली संघले सहयोग गर्ने भएको छ ।

अमेरिका भ्रमणमा रहेका फाउन्डेसनका सदस्यसचिव अतुल कोइराला र संघका अध्यक्ष भवन भट्टले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अभियान सञ्चालनका लागि संघले आर्थिक सहयोग गर्नेछ । २०७२ साल माघ २५ गते कोइरालाको निधन भएपछि विसं २०७३ असोज २३ गते फाउन्डेसनको स्थापना भएको हो ।

नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय कोइरालाको नाममा स्थापना भएको फाउन्डेशनका बारेमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा छलफल कार्यक्रम पनि सम्पन्न भयो ।

कार्यक्रमको आयोजना संघको मेरिल्याण्ड शाखाले गरेको हो । पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा संरक्षक रहेको उक्त फाउन्डेसनमा महामन्त्री डा शशांक कोइराला अध्यक्ष हुन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष जेदु पोखरेलले स्व. कोइराला गणतान्त्रिक नेपालको संविधानका पिता भएकाले उनलाई राष्ट्रले नै राष्ट्रिय महत्वका प्रधानमन्त्रीको स्थान दिनुपर्ने बताए ।

सदस्यसचिव कोइरालाले राजनीतिक नभई सामाजिक विकासका लागि फाउन्डेशन स्थापना भएको जानकारी दिए ।

फाउन्डेसनका संस्थापक सदस्य एवं पूर्वराजदूत डा दीनेश भट्टराईले संस्थाको उद्देश्य राजनीति नभई समाज सेवा भएको बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ समाजसेवी डा श्याम कार्की, वानाका अध्यक्ष अनु वन्त, म्याग्दी समाजका अध्यक्ष अमर छन्त्याल, सामाजिक अभियन्ता कृष्ण घिमिरे, डा विशाल भण्डारी, वानाका पूर्वअध्यक्ष विजय श्रेष्ठ, सतिस चापागाईँ, जनसम्पर्क समिति मेरिल्याण्ड शाखाका पूर्वअध्यक्ष रामचन्द्र अधिकारी तथा सुवास घिमिरे महासमिति सदस्य चित्रा केसी र नेपाल जनसम्पर्क समितिका पूर्वसंयोजक तथा महासमिति सदस्य विष्णु सुवेदीलगायतले स्व कोइरालाले पु¥याएको योगदानका बारेमा चर्चा गरे ।