विचार/ब्लग

मोदी आउने हल्लाले हल्लिएको मेरो देश !

-एचआर जोशी/काठमाडौं । कवि भूपिशेरचनको एउटा कवितांश सम्झनामा आयो, हल्लै हल्लाको यो मेरो देश । ठिक त्यसै भएको छ आजकाल हाम्रो नेपालमा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोली अर्थात शुक्रबार अर्थात बैशाख २८ गते नेपाल भ्रमणमा आउदैँछन् । विभिन्न मिडिया हुदैँ सामाजिक सञ्जालदेखि चियापसल मोदीमय बनेका छन् । मोदीको यसपटकको भ्रमण धार्मिक भ्रमण हो भनिएको छ तर मोदीको स्वागतर्थ गाली तालीले नेपाली समाज गर्माएको छ ।

एचआर जोशी

भ्रमणमा खासै राजनीतिक सम्झौताहरु नसमेटिएको बताईएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार तेस्रोपटक नेपाल भ्रमणमा आउदैँछन्  तर पहिलो पटक मोदी नेपाल आउँदा नेपाली जनता जति खुसी थिए, त्यसको एक चौथाई पनि अहिले खुसी छैनन् । कारण भारतले नेपालमाथि २ बर्ष आगाडी अघोषित नाकाबन्दी ।

मोदीको शुक्रबार हुन लागेको भ्रमणको स्वागत लागि सरकार तम्तयार छ तर यसको नागरिक तहबाटै आलोचना भएको छ । पाहुनाको स्वागत सत्कार, मानसम्मान गर्नु नेपाली परम्परा नै हो । सरकारले मोदीको दुई दुई ठाउँमा नागरिक अभिनन्दन गर्नु त अलि बढी भएन र ?

नाकाबन्दी गरेर भारतले नेपालप्रति गरेको दुष्प्रयास नेपाली जनताको मानसपटलमा ताजा छ र रहिरहनेछ । कतै मोदीले यसपटक पनि दिन लागिएको सम्मानको बदलामा नाकाबन्दी जस्तै रुवाउने चिज त दिने होईनन् । कुकुरलाई बढी घिउ पच्दैन् भन्ने उखानलाई मोदीले पहिलो भ्रमण ताका नै सत्य सावित गरिसकेका छन् कतै दोस्रो पटक पनि यही उखान कार्यान्वयनमा आउने होकी भन्ने भय पनि नेपाली जनमा छ ।

सामाजिक सञ्जाल प्रयोग कर्ता मोदी ओली प्रति रुष्ट

मोदी र ओली विरुद्ध सामाजिक सञ्जाल प्रयोग कर्ताहरु समेत रुष्ट बनेका छन् । मोदीलाई नाकाबन्दी गरेको निहुँमा तारो बनाएका छन् भने नाकाबन्दीका बेला भारतसँग नझुकरै राष्ट्रवादीको छवि बनाएका ओलीको छवि धरमराउन सामाजिक सञ्जाल प्रयोग कर्ता लागि परेका छन् । सत्तापक्ष र प्रतिपक्षका नेता कार्यकर्ताबाट मोदीको नेपाल भ्रमणको बिषयमा सकारात्मक र नकारात्मक प्रतिक्रियाले सामाजिक सञ्जाल रङगिएको छ ।

प्रतिपक्षी दल समर्थकहरुले त ओली र मोदी मरेको तस्बीरहरु ग्रुप ग्रुपमा पोष्ट गर्दै रमाईरहेका छन् तर यसो गर्नु कतिको ठिक ? सामाजिक सञ्जालमा रुष्ट भएर जे पायो त्यही लेखेर सामाजिक सञ्जालको गलत प्रयोग गर्नु पनि राम्रो होईन् । तपाई हामीले सामाजिक सञ्जालमा जे जस्तो लेखे पनि, जे जस्तो तस्बीरहरु पोष्ट गरे पनि आखिर मोदी शुक्रबार नेपाल आउने नै हुन् र ओली सरकारले भव्य स्वागत गर्ने नै हो । त्यसकारण सत्तापक्ष प्रतिपक्ष दुवै तर्फका कार्यकर्ताहरुले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन भूमिका खेल्ने खालका अभिव्यक्ती दिनु श्रेयस्कर होला ।

नेपालको सुरक्षा अवस्था निरिह रहेको सन्देश
विरोध मोदी भ्रमणको होईन,भ्रमणको नाममा नेपालका दक्षिणी उत्तरी सिमानामा भारतीय कमाण्डोले गरेको जासुसीको हो । सार्वभौम देशमा विदेशी सेनाको गस्ती जासुस नै हो । मोदीको सुरक्षार्थ नेपाली भूमिमा विदेशी कमाण्डोको सुरक्षा खटाईनु नेपालमा सुरक्षाको अवस्था निरिह र कमजोर छ भन्ने सन्देश हो ।

२० बर्षमा नभएको काम १० दिनमै
मोदीलाई नेपालका सबै अर्थात ७७ वटै जिल्ला घुमाउन पाए नेपालले चमत्कार गर्न समय नै लाग्दैनथ्यो भन्ने आभास तब हुन थाल्यो जब जनकपुरले १० दिनमै रुप फेर्यो । अहिले जनकपुरधाम लगायत क्षेत्र अन्माउन तयार गरिएकी बेहुली जस्तै बनेको छ । २० बर्ष सम्म कालोपत्रे हुन नसकेका सडक १० दिनमै कालोपत्रे भएका छन् । यो सब मोदीको नेपाल भ्रमणको कमाल हो । यता राजधानी काठमाडौँमा पनि मोदी गुड्ने सडकहरु रातारात काला र चिल्ला बनेका छन् तर मोदीको गन्तब्य पछाडिको सडकको अवस्था भने जिउकातिउ छ । हामीले मोदी आउने भनेर जसरी रातारात चमत्कार गर्यो यही स्पिडमा काम गर्ने हो भने नेपाल बन्न रत्तिभर पनि समय लाग्दैँन् ।

विना सम्झौँताको भ्रमण
गृहकार्य नगरेरै मोदी नेपाल आउन लागेका छन् । प्रधानमन्त्री मोदी नेपाल आउँदा पनि कुनै त्यस्तो सम्झौताको कार्यक्रम छैन् बस मोदीले तीर्थाटन गर्नेछन् र अरुण तेस्रोको शिलान्यास गर्नेछन् । मोदी हतार हतारमा नेपाल आउन लागेपनि उनले नेपाली जनतालाई नाकाबन्दी बिर्साउने उपहार दिन सकुन् ।