कुराकानी

मंसिरको निर्वाचनपछि कांग्रेस र माओवादीको सरकार बन्छः डा.नारायण खड्का(अन्तरवार्ता)

लोकतन्त्र र जनताको लागि लामो समय योगदान गरेका ‘डा. नारायण खड्का’ कसैलाई पनि चिनाइराख्नुपर्ने नाम होइन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र शक्तिशाली मन्त्री समेत भैसकेका डा.खड्का नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय छन् ।

कृष्णप्रसाद भट्टराईसँग निकट रहेर काम गरेका नेता खड्का सुशील कोइराला नेतृत्वको सरकारमा शहरी विकास मन्त्री बनेका थिए । विदेश बसेर अध्ययन गरी नेपाल र नेपालीको उन्नतीको लागि हरपल खटिरहने नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका डा. खड्का तत्कालीन शक्तिशाली पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले मन पराएका व्यक्ति थिए ।

त्यसपछि केही समय शेरबहादुर देउवासँग समेत नजिक रहेर काम गरेका डा.खड्का पछिल्लो समयमा रामचन्द्र पौडेलको टिममा भएपनि गुटबन्दीको राजनीतिलाई मन नपराउने प्रखर र बौद्धिक नेतामा गनिन्छन् ।  साधारण जीवनशैली अपनाउने खड्का जिल्लाका कार्यकर्ता र जनतामा निकै लोकप्रिय रहेका छन् । उनै पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य खड्कासँग सुर्यखबर डटकमका प्रतिनिधिले गरेको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

तपाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि लिएर नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदै मन्त्री समेत हुनुभयो, त्यस्तै विदेशी कुटनीतिज्ञहरुसँग समेत राम्रो सम्बन्ध रहेको छ, तपाई उदयपुरबाट राजनीतिक उचाई प्राप्त गर्दै आउनुभो, तपाईले आफुले आफुलाई चाहि कसरी मुल्यांकन गर्नुहुन्छ ?

–राजनीति भनेको वास्तवमा जनताको सेवा गर्नु हो । राजनीतिज्ञ भनेको जनताको सेवक हो । यो पेशा जसले पनि सरल ढंगले अप्नाउन सक्छ । नेपाली समाज अहिले पनि सामन्तवादी सोचबाट अघि बढ्न सकेको छैन । त्यस्तो समाजमा मान,मर्यादा र पदको कुरा हुन्छ । अहिले नेपालमा जनताको पक्षमा निस्वार्थ ढंगले सेवा गर्नुपर्छ भन्ने कुराको ह्रास हुँदै गएको स्थिति छ ।

आफ्नो स्वार्थको लागि राजनीति गर्नेहरुले पक्कड जमाएको स्थिति छ । यो प्रवृत्तिको भण्डाफोर गरेर राजनीतिक के का लागि गरिन्छ र कसरी गर्नुपर्छ भन्ने मेरो आफ्नै शैली छ र त्यो बाटोलाई मैले अंगालिरहेको छु । जनतालाई ठग्नु र ढाट्नु भनेको पाप हो भन्ने मेरो सिद्धान्त हो । जनताका अघि बोलेका कुरा पुरा गर्नुपर्छ भन्ने मेरो अर्को मान्यता हो ।

जस्तै, मैरै नेतृत्वमा थुप्रै विकासका कामहरु भएका छन् । कहाँ पुल बने, कसरी बने भन्ने कुरामा म ठेक्केदारहरुको पछि कहिल्यै लाग्दिन । ठेक्केदारहरुसँग साँठगाँठ गरेर विकासको कामलाई नै गुणस्तरहिन बनाउने कुराबाट म जहिल्यै टाढा रहे । यी खालको विकृतिबाट एउटा राजनेताले जोगिने काम गर्नुपर्छ । अर्को कुरा म मन्त्री हुँदा मेरो घरमा झण्डावाल गाडीका ताँती हुँदैनथे ।

मैले नियुक्त गरेका स्वकीय सचिवहरुलाई समेत समयमा बोलाउने काम हुन्थ्यो । यी कामहरु मैले कुनै प्रचारका लागि गरेको थिइन ।प्रचारका लागि भएको भए तपाईहरुसम्म पनि सुचना आउँथ्यो । सरकारी गाडी प्रयोग गर्दा पनि मेरो आफ्नै खालको नियम थियो । म धेरै पटक गाडी नचढीकन पनि हिड्ने गर्दथे । मलाई धेरैपटक सिंदरबारको गेटबाट पैदल हिडेर भित्रिँदा र बाहिरिदा प्रहरीका अफिसरहरुले नै चासो देखाउने गर्थे । एउटा गरिब देशको मन्त्रीले सामान्य तरिकाले बस्दा के हुन्छ ? भन्ने सोच मेरो मनमा आइरहन्छ ।

तपाईले यस्तो कुरा गर्नुभयो, तर कांग्रेसका धेरै नेताहरु र त्यहाँभित्रको अवस्था अलि फरक छ नि ?
–हो पार्टीभित्र र बाहिर त्यो अवस्था छ । अहिले पनि हेर्नुस् न पार्टीभित्र कुनै पनि अवसर पाउने ठाउँमा आफ्नो मान्छे पार्ने पर्ने, आफ्नै वरिपरिका मान्छेहरुलाई व्यवस्थापन गर्ने कामहरु भएका छन् । अहिलेको चुनावकै कुरा गर्दा आफ्नै वरिपरि र निकटमा मान्छेहरुलाई स्थान दिइरहेको देखिन्छ । अन्य विकृतिका कुराहरु पनि देखिन्छ । त्यसलाई नेताहरुले त्याग्न सक्नुपर्छ ।

कांग्रेसभित्र मौलाइरहेको भ्रष्टाचारको संस्कृतिबारे यहाँको के विचार छ ?
–यो प्रवृत्ति नेपाली कांग्रेसभित्र मात्र होइन, नेपालको राजनीति भित्रकै समस्या हो । नेपालको राजनीतिक सिस्टमभित्रै यो घुसिसकेको छ । अहिले सर्वसाधारणमै के परेको छ भने पैसा नभई कुनै काम गर्न सकिन्न भन्ने धारणा रहेको पाइन्छ । नेता र कार्यकर्ताहरुमा पैसा नभई चुनाव लड्न सकिन्न भन्ने धारणा रहेको छ । त्यस्तै धेरै मानिसहरुको पारिवारिक प्रेसरले पनि पैसाको मोह बढेर गएको देखिन्छ । यसले भ्रष्टाचार मौलाएको हो । अरु पार्टीहरु माओवादी र एमालेमा पनि यो जालोले सकिरहेको अवस्था छ । यो भ्रष्टाचारको जरोलाई उखेलेर फाल्नु अनिवार्य छ ।

तपाई नेपालमा विद्यमान भ्रष्टाचारको मुख्य कारणचाहि केलाई देख्नुहुन्छ ?
–भ्रष्टाचारको मुख्य कारण भनेको हामी अहिले पनि अर्धसामन्ती समाजबाट गुज्रिरहेका छौं । २००७ सालको राजनीतिक पुस्ताभन्दा हामी दोश्रो पुस्ता हौ । वीपी कोइरालाहरुले क्रान्तिको सुरुवात र नेतृव गर्दा त्यसबेला उहाँहरु अनुशासित र शिक्षित हुनुहुन्थ्यो । त्यसैले उहाँहरुले समाजलाई अग्रगामी परिवर्तन गर्न सकिन्छ भन्ने बाटो तय गर्न सकिन्छ भन्ने निश्कर्ष निकाल्नुभयो ।

अहिले हाम्रो दोश्रो पुस्ताका नेताहरु सबै जमिन्दार छन् । एमालेमा पनि यो देखिन्छ । त्यसबेला समाजमा जमिन्दार, मुखिया हुने गर्दथे । उनीहरु गाउँका ठुला–ठुला पदमा रहेका हुन्थे । गरिबहरुको शोषण गर्दथे । जनतालाई शोषण गर्नुका साथै उचाल्ने र पछार्ने किसिमको राजनीति त्यसबेला हुने गर्दथ्यो । अहिले पनि मन्त्री हुने वित्तिक्कै त्यही खालको प्रवत्ति देखिने, चुनावमा जाँदा पैसा चाहिने, भाई भतिजालाई त्यसमा उपयोग गरेर आर्थिक चलखेल गर्ने काम भैरहेको छ । नेतामा मात्र होइन कर्मचारीहरुमा समेत यो प्रवृत्ति देखियो ।

अहिले राजनीतिक दलहरुभित्र एउटा प्रवृत्ति के देखिएको छ भने एउटा जिल्लास्तरीय नेता वा कार्यकर्ता केही काम गर्दैन तर उ कोट लगाएर र महंगा सुविधाहरु लिएर दौडिरहेको देखिन्छ, नेताहरुको घर घरमा पुगिरहेको हुन्छ, के कार्यकर्ताहरुले नै नेताहरुलाई भ्रष्टाचार गर्न उक्साएका त होइनन् ?
–कुनै पनि नेताको घरमा कार्यकर्ता पुग्नु स्वभाविक हो । नेताहरुले कार्यकर्ताहरुको कुनै समस्याहरु समाधान गरिदिनु पनि स्वभाविक हो । त्यस्तै नेताले पनि जिल्ला र कार्यक्षेत्र जाँदा खर्चको व्यवस्थापन गर्नैपर्छ, यो एउटा कुरा भो । त्यस्तै, अहिले बाहिरबाट पैसा ल्याएर यहाँ उडाउने काम भैरहेको छ । जसलाई म त लाहुरे अर्थतन्त्र भन्ने गर्छु । यसले पनि कति दिन धान्छ ?

त्यस्तै एउटा कर्मचारीले १५–२० हजार तलब खाएर कसरी परिवार चलाउन सक्छ, त्यो पनि सम्भव छैन । यी यावत आर्थिक समस्याका कारण नेता, कार्यकर्ता, कर्मचारी वा जोसुकैलाई आर्थिक अराजकता गर्ने काम तिर धकेलदिन्छ ।

त्यो नगरी उनीहरुलाई केही उपाय पनि हुँदैन । यो सामाजिक, आर्थिक क्यान्सरको रुपमा फैलिरहेको देखिन्छ । यो समस्याको समाधान गर्न नेपाली कांग्रेसले मात्र पहल गरेर हुँदैन । त्यसैले एक पार्टीका नेता कार्यकर्ताहरुले अर्को पार्टी नेता मन्त्री हुँदा भ्रष्टाचारीको आरोप लगाउनु स्वभाविक भएको छ ।

मैले राष्ट्रिय योजना आयोगदेखि मन्त्रीको जिम्मेवारीमा रहँदासम्म द्धन्द्ध पीडितका लागि आधा तलब छुट्याएको थिए । तर प्रोपाेगाण्डा मच्चाउनेहरुले मच्चाइरहेका थिए ।

हुन त यो देशमा भगवानलाई समेत नमान्ने मान्छे  छन् नि होइन ?
–यहाँ प्रोपोगाण्डा गर्नेहरुको ठुलो जमात छ । तपाईलाई म एउटा उदाहरण दिन्छु । सुशील दाईको नेतृत्वमा नयाँ संविधान आइसकेपछि हामीले माओबादीसंगसँग मिलेर काम गर्नुपर्छ भन्ने सोच बनायौं ।

माओवादीले मान्छे मारेर आएपनि आफुलाई क्रान्तिकारी भन्ने गर्छ, उसले आधारभूत तहका जनताको मुद्धा बोकेर हिडेको छ भन्ने लाग्यो । त्यसैले उसलाई शान्ति र लोकतन्त्रको भाषा सिकाएर हिड्न सिकाउनुपर्छ भन्ने मैले पनि सोचें । त्यसैले प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने कुरा भयो । त्यसपछि भेटघाटका लागि बिहान ७.३० बजेको समय लिइयो ।

म त्यसबेला बहालवाल मन्त्री थिए । उनले ७.३० बजे त बाहिर जानुपर्यो ४ बजे भेटौ भन्ने कुरा गरे ।माओबादीका केन्द्रीय नेताहरु केन्द्रीय नेताहरु प्रचण्डलाई भेट्न आफ्ना अंगरक्षहरुका साथमा सिभत्र प्रबेश गर्दै थिए सोही समयमा म बहालवाला मन्त्री भएपनि कसैको मोटरसाईकलमा लिफ्ट मागेर उनलाई भेट्न जांदा उनीहरुले अचम्म मोनेर हेरेको दृष्य अहिले पनि मलाई याद भईरहेको छ ।बहालवाला मन्त्री मोटरसाईकलमा सवार भएको देखेर उहाँहरुले मलाई गाडीमा पुर्याईदिन्छु समेत भन्नुभएको थियो ।

त्यो बेला प्रचण्डले नेपाली कांग्रेसकै इतिहासमा तपाईको जस्तो स्वच्छ छबि भएको नेता हामीले पाएनौ भनेर प्रशंसा गरेका थिए तर पछि उहाँकै छोरा, नाती र कार्यकर्ताहरुले करोडौं भ्रष्टाचार गर्यो भनेर प्रचार गर्न थाले । प्रचण्ड आफैंले गरेको त्यत्रो प्रशंसा उनका छोरा, नाती र कार्यकर्ताहरुले उडाइदिए ।

त्यसकारण मेरो भनाई के हो भने भ्रष्टाचार विरुद्धको अभियान थाल्नुपर्छ तर यो अभियान थालौ भन्दा कोही पनि जुट्दैनन् । माओवादीले क्रान्ति गरेर आएँ भनेपनि त्यो दल्दल्मा फसेको छ । भ्रष्टाचारको दल्दल्मा हामी सबै फसेका छौं, यसबाट निस्किनका लागि हामीले अब एउटा ठूलो आन्दोलन गर्नैपर्छ ।

दाईको यसमा कुनै अभियान सुरु गर्ने सोच छ ?
–अभियान त आर्थिक सुधारबाटै गर्नुपर्छ । प्रतिव्यक्ति आय सुधार्ने अभियानको सुरुवात गर्न जरुरी छ । अर्को कुरा मनिटरिङको सिस्टमलाई राम्रो व्यवस्थापन गर्नुपर्यो । नियमहरु पारदर्शी गर्नेदेखि कर्मचारीहरुले सर्वसाधारणका कामहरु फटाफट काम गर्ने कडा नियम बसाल्ने हो भने यसलाई रोक्न सकिन्छ । साथै कर्मचारीका लागि पनि राम्रो सुविधा दिन सक्यो भने भ्रष्टाचार न्युनीकरण हुनसक्छ । त्यो नगरे सम्भव हुँदैन ।

तपाई सुशील दाईको सरकारमा प्रभावशाली मन्त्री समेत बन्नुभयो, त्यहाँ तपाईसँग जोडेर केही विषयहरु पनि उठे, त्यो स्वभाविक हो, तर अहिले शेरबहादुर दाई आएपछि विशेषगरी चुनावमा डन र पैसावाद बढ्यो भन्ने गुनासाहरु पनि सुनिन्छ नि ?

–डन र पैसावाद बढ्नु स्वभाविक हो । अघि तपाईले भनेजस्तो यहाँ एकसे एक धनाढ्य व्यक्तिहरु रहेका छन् । यहाँ आफुसँग धेरै पैसा भयो, मानमर्यादा भएन भने राजनीतिमा लाग्ने चलन देखियो । पैसा भयो मानमर्यादा भएन भने राजनीतिमा खर्च गर्ने चलन बढेको छ । यो प्रवृत्ति नेपालका कम्युनिष्ट पार्टी भनाउँदाहरुमा समेत देखियो ।

धनाढ्यहरुलाई राजनीतिक स्टाटस् निर्माण गर्नका लागि धन प्रवृति बढेर गएको छ । पैसा नभएको नेतासँग पैसा दिएर राजनीतिक मान मर्यादा किन्ने काम भएको छ । त्यतिमात्रै होइन, आफ्नो पार्टीको बफादार, जो भनेको बेला जतिबेला पनि नेताको अगाडि हाजिर हुन्छ, त्यस्तो व्यक्तिलाई अगाडि ल्याउने गरिन्छ । जसको जनाधारनै हुँदैन उसलाई स्थापित गर्ने गरिन्छ ।  पैसावाल र चाकडीबाजहरुलाई अघि बढाउने इमान्दार र त्यागी कार्यकर्ताहरुलाई बेवास्ता गरेर अघि बढ्ने प्रवृत्ति बढेको छ ।

पछिल्ला वर्ष नेपाली कांग्रेसभित्र समुहगत राजनीति देखिदै र बढ्दै आएको छ, तपाई पनि रामचन्द्र पौडेल पक्षमा हुनुहुन्छ, पार्टीभित्र पौडेल र कोइराला समुहले देउवा समुहलाई पेल्न सकेन भन्ने सुनिन्छ नि ?

–पार्टीभित्र हामी दुवै समुह दोषी छौ । कांग्रेससभित्र जब पार्टी एकता गरेर जानुपर्छ भन्ने पक्षका नेताहरु अघि आउँछन्, उनीहरु विस्तारै ओझेल पर्दै जान्छन् । दुवैतिर उही प्रवृत्ति देखिन्छ, आखिर पार्टीभित्र उही मान्छे हुन्, उही पात्र रहेका छन् । शेरबहादुरजीको सरकारमा अर्को नेतालाई स्थान दिएको भए पनि धेरै परिवर्तन हुन्थ्यो भन्ने कुरा मलाई लाग्दैन । गुटमा जो नेता भएपनि फरक पार्दैन ।

अर्को प्रसंंग, २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसले देशैभरि राम्रो माहोल ल्याएको थियो,सुशील कोइरालालाई प्रधानमन्त्री घोषणा गरेर कांग्रेस चुनावमा उत्रिएको थियो, त्यसबेला जित्यो पनि तर अहिले स्थानीय चुनावमा पनि कांग्रेसमाथि धक्का लागेको अवस्था छ, आगामी मंसिरको चुनावमाचाहि कुन ढंगले कांग्रेसले योजना निर्माण गर्नुपर्ला ?

–मलाई लाग्छ अहिले कुनै नेताहरुलाई प्रधानमन्त्रीको रुपमा घोषणा गरेर गए पनि केही हुनेवाला छैन । गिरिजाबाबुले किसुनजीलाई अघि सार्नुभयो, किनभने उहाँले २०४८ को मध्यावधी निर्वाचन थेग्नुभएको थियो । २०४८ सालमा हाम्रो बहुमत थियो । २०५१ मा हामी दोश्रो भयौं । त्यसबेला कांग्रेसको इमेज अलि डाउन भएको बेला गिरिजाबाबुले किसुनजीलाई अघि सारेर जानुभएको थियो ।

-डा.खड्का सुर्यखबरसँग अन्तरवार्ता दिँदै

त्यस्तो खालका लिडरहरु अहिले देखिदैनन् । अहिले हामीले जनतामा विशुद्ध नयाँ ढंगले जानुपर्छ । अहिले जनतामा हामी स्वच्छ भएर आएका छौ, नयाँ संविधान निर्माण र कार्यान्वयनको विषय लगायतका मुद्धाहरु लिएर जानुपर्छ । अहिले पार्टीभित्र गुटको कुरा बाहिर नआएको भएर राम्रो हुन्थ्यो । मैले त भनेको थिए शेरबहादुरजीले रामचन्द्रजीलाई सँगै राख्नुहोस् भनेको थिए ।

यसबेला पार्टीभित्र दुईवटा गुट देखिनु त राम्रो होइन नि । त्यसकारण पार्टीमा एकता भएर जानु धेरै राम्रो कुरा हो । देउवाजीसँग जुन चाहिने राजनीतिक आकर्षण हो, त्योचाहि छैन भन्ने साथीहरुको गुनासो सुनिन्छ । त्यसलाई उहाँले सुधारेर माथि आउँदा राम्रो हुन्थ्यो । उहाँहरुले एकताको सन्देश दिन सक्नुपर्छ ।

दाई अहिले सेलिब्रेटीको रुपमा पनि मिडियामा स्थापित हुनुहुन्छ, दाईजस्तै कुलमान घिसिङ, लालबाबु पण्डित गगन थापा र गोविन्द केसीलाई तपाईले कसरी हेर्नुहुन्छ ?
–तपाईले लिएका नाममा म सबैमा सहमत छैन । धेरैलाई फेसबुकका साथीहरुले उनीहरुलाई उचालेको देखिन्छ । तीमध्ये केसी र घिसिङहरुको नाम तपाईले सही लिनुभयो । अरुलाईचाहि प्रोपोगाण्डा गरेर अघि ल्याउने काम भएको छ ।

डा.केसीले स्वास्थ्य क्षेत्रलाई सफा गर्न पाए हुन्थ्यो भन्ने माग उठाउनुभएको छ, यो पनि राम्रो हो । त्यस्तै घिसिङले पनि केही काम गर्न सक्छु भन्ने उदाहरण देखाएकोले उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ । उहाँहरुको काम गर्ने क्षमतालाई प्रोत्साहन गर्नुपर्छ ।

अहिले नेपाली कांग्रेसका सभापति देउवाको नेतृत्वमा सरकार छ, यो सरकालाई यहाँले कसरी हेर्नुहुन्छ ?
–अहिलेको सरकारमा माओवादी पनि सहभागी थियो तर उनीहरु नैतिकताबाट निकै टाढा गएको देखियो । म पनि एमाले नेतृत्वको सरकारमा रहेर काम गरेको मान्छे हो । सँगै बसेर काम गर्दा धेरै चूनौतीहरु हुन्छन् । मेरो अनुभवमा सरकार चलाउन विपक्षीसँगको सन्तुलन मिलाउन निकै चुनौती हुन्छ । अहिलेको सरकारले भने निकै समस्यामा रहेर काम गरिरहेको देखिन्छ ।

अहिले म शेरबहादुर देउवा नेतृत्वको सरकारलाई के जस दिन चाहान्छु भने माओवादी र एमालेले मधेसवादी दलहरुलाई वार्तामै ल्याउन सकेका थिएनन्, मधेसमा मानिसहरु मरिरहेका थिए । मधेसमा अहिले पनि चुनाव हुन सक्ने अवस्था थिएन ।

प्रधानमन्त्री देउवाले मधेसवादी दलहरुलाई पनि वार्ता गरेर चुनावमा ल्याउनुभयो । उनीहरुलाई संविधान स्वीकार्ने अवस्थामा ल्याइपुर्याइएको छ । यो प्रधानमन्त्री देउवाको ठूलो काम हो । त्यस्तै गोविन्द केसीको माग पनि पुरा गरिदिनुभयो । यी सबै काम गरेकोले यो सरकारलाई ठूलो जस जान्छ ।

चुनावी प्रसंगमै फर्कौ, तपाईले उदयपुरमा चुनाव जित्ने सम्भावना कत्तिको छ ?
–म अहिले चुनावमा जाने भनेको पाँच वर्ष कटाउनका लागि भनेर होइन,मन्त्री बन्छु भनेर पनि होइन । भोली म प्रधानमन्त्री हुन्छु भनेर पनि होइन । मलाई त्यहाँको जनताले मैले गरेको कामको आधारमा मुल्यांकन गरिरहेका छन् । मैले त्यहाँ धेरै विकासका कामहरु गरिरहेको छु । म आफै सिधै फोन गरेर जनताका समस्याहरु समाधान गरिदिन्छु ।

यति सम्मकी मेरो फोन उठाउने स्वकीय सचिव समेत मैले राखेको छैन । म घरमा समेत आफ्ना साथीभाईलाई आफैं चिया बनाएर खुवाउने गर्छु । यसको अर्थ मैले निकै साधारण जीवन शैली अप्नाएको छु । यो कामले मेरो राजनीतिक संस्कारलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरामा जोड दिएको छ । त्यसैले मलाई लाग्छ, मेरा कार्यकर्ता साथीहरुले मलाई मन पराउनुभएको छ । यही कारण पनि म उदयपुरमा जित्छु ।

आगामी मंसिर १० र २१ गतेको चुनावमा नेपाली कांग्रेसको कति सिट आउँछ जस्तो लाग्छ ?
–मलाई लाग्छ प्रतिनिसभाको १ सय ६५ सिटमध्ये त्यस्तै ७५ देखि ८० सिट हामीले जित्छौ । त्यस्तै प्रदेशसभाको ३ सय ३० सिटमध्ये हामीले १ सय १० को हाराहारीमा हामीले जित्छौ ।

त्यस्तै, समानूपातिकमा पार्टीको मत भएकोले त्यसमा पनि ४५ सिट जति आउँछ जस्तो लाग्छ । वाम गठबन्धनको पनि दुई तिहाई त पुग्दैन । हाम्रो पनि बहुमत आउँछ जस्तो लाग्दैन । मलाई लाग्छ भोलि एमाले र माओवादीको गठबन्धन त टु्टछ नै । मलाई लाग्छ भोलि कांग्रेस र माओवादी मिलेर सरकार बनाए भने अचम्म नमान्नुहोला !