कुराकानी

कांग्रेसभित्र भ्रष्टहरुले चुनाव लड्न नपाउने वातावरण बनेकोमा खुसी लागेको छ: धनराज गुरुङ (अन्तरवार्ता)

धनराज गुरुङ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
काठमाण्डौ । धनराज गुरुङ नेपाली कांग्रेसका लोकप्रिय युवा नेता हुन् । कांग्रेसभित्र देखिएका थुप्रै विकृति र विसंगतिविरुद्ध लड्ने नेताका रुपमा नेता गुरुङ पछिल्लो समयमा पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचारी प्रवृत्तिको विरुद्धमा अभियान चलाइरहेका छन् । उनलाई पार्टी र पार्टीबाहिरका नेता र जनताले समेत साथ दिइरहेका छन् ।

यही बीचमा केही दिनअघि कांग्रेसका केही सांसदहरुले भ्रष्टाचार गरेको आरोपमा सजाय पाएका नेताहरुले समेत उम्मेद्वार बन्न पाउनुपर्ने मागसहित संसदमा दर्ता गरिएको संशोधन प्रस्ताव असफल भएको छ । यो संशोधन पास हुनुहुँदैन भन्ने अभियानमा नेता गुरुङ लगायतको एउटा टिम जमेर लागेको थियो । अन्तत, कांग्रेसका सांसदहरुले संशोधन फिर्ता लिएर र त्यो प्रस्ताव असफल भयो । यसमा नेता गुरुङ लगायतको टिम सफल भएको देखिएको छ । त्यसर्थ, यही सेरोफेरो र मुलुकको पछिल्लो राजनीतिक परिवेशमा केन्द्रीत रहेर नेता गुरुङसँग सुर्यखबर डट कमले संक्षिप्त कुराकानी गरेको थियो । प्रस्तुत छ सोही कुराकानीको सम्पादित अंश

तपाइले भ्रष्टाचारीलाई निर्वाचन लड्न दिनु हुँदैन भन्ने अभियानलाई नै अघि बढाउनुभएको थियो, कांग्रेसका केही सांसदले भ्रष्टाचारको सजाय भोगेकाले पनि उम्मेद्वार बन्न पाउनुपर्छ भनेर दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता लिएका छन्, के तपाई यो अभियानमा सफल हुनुभएको हो ?

–संशोधन मुलुकको हितविपरित थियो, त्यो पार्टी हित विपरित पनि थियो । पार्टीभित्रका हामी लगायत अधिकांश साथीहरुको भ्रष्टहरुलाई चुनाव लड्न दिनुहुँदैन भन्ने एउटै मत थियो । बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत हामीले दह्रो ढंगले यो विषयमा अडान लियौं । उक्त संशोधन पास भएको भए नेपालको सिंगै राजनीतिक व्यवस्था थप भ्रष्टीकरणतर्फ जाने थियो । अन्ततः त्यो संशोधन फेल भयो । अब भ्रष्टहरुले चुनाव लड्न नपाउने व्यवस्था भएको छ । यसलाई हाम्रो सफलतानै मान्नुपर्छ । हामीले त्यो महसुस गरेका छौ ।

पार्टीभित्रै यो अभियान चलाउँदा तपाईलाई खुमबहादुर खड्काजस्तो प्रभावशाली नेताको दबाबचाहि आएन ?
–खासै त्यस्तो दबाबचाहि झेल्नु परेन तर केही मान्छेहरुले भने हाम्रो सुचना संकलन गरेर राखेको कुरा बाहिर आइरहेको छ । सबै चुनौतीहरुको सामना गरेर हामीले बोल्ने आँट गरेका थियौ र अहिले पनि हामी हाम्रो अभियानको पक्षमा बोलिरहेका छौ । लोकमानसिंह प्रकरणमा पनि हामीले पार्टीभित्र निकै आँट र साहासका साथ बोलेका थियौं ।

हाम्रो अभियानको उद्धेश्य भनेको पार्टीभित्र र बाहिर राम्रो राजनीतिक संस्कारको विकास गर्नुपर्छ भन्ने हो । हामीले अब पार्टीभित्र र बाहिरको राजनीतिक संस्कार परिवर्तन गर्ने आँट गर्नुपर्छ । नेपाली राजनीतिक संस्कारलाई नै परिवर्तन गर्नुपर्ने बेला आएको छ । त्यसका लागि हामी सबै एकजुट भएर यो अभियानमा लाग्नुपर्छ ।

नेपाली कांग्रेसभित्र तपाईमात्रै एक्लै होकि, अरु प्रभावशाली नेताहरु पनि छन् भ्रष्टाचाविरुद्धको अभियानमा ?
–यो अभियानमा म मात्र होइन, पार्टीका अरु थुप्रै साथीहरुको साथ रहेको छ । नत्र यो संशोधन फिर्ता हुन सम्भव थिएन । पार्टीका इमान्दार र त्यागी नेताका रुपमा चिनिने मनमोहन भट्टराईले त फोन गरेरै मेरो पनि यो अभियानमा साथ र सहयोग रहन्छ भनेर सुरुमै ऐक्यबद्धता जनाउनुभएको थियो । उहाँले भ्रष्टहरुलाई कुनै पनि हालतमा साथ दिनुहुँदैन भनेर हाम्रो अभियानमा जोडिनुभएको छ । भट्टराई लगायत धेरै नेताहरुसँग कोअर्डिनेशन थियो र अहिले पनि त्यो अभियान जारी छ ।

अब सरकार निर्माणको विषयतर्फ लागौं, अहिले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको मन्त्रिमण्डल निकै जम्बो भएको भन्दै आलोचना भैरहेको छ, यसबारे यहाँको धारणाचाहि के छ ?
–सरकार निर्माणको सवालमा पनि हामीले सुरुदेखिनै पार्टी नेतृत्वलाई सचेत गराउँदै आएका छौ । अहिलेको मन्त्रिमण्डल निर्माणको शैली गलत देखिएको छ । नेपालको राजनीतिमा पछिल्लो समय एउटा असाध्यै नराम्रो राजनीतिक संस्कृति देखिएको छ । त्यो के हो भने अरुको राम्रो भए पनि नराम्रो भन्ने र आफ्नो नराम्रो भए पनि राम्रो भन्ने ।

हामीले गल्ती भएको कुरालाई गल्ती नै भन्न सक्नुपर्छ । त्यसले मात्र शुद्धीकरण ल्याउन सक्छ । मेरो विचारमा अहिलेको मन्त्रीमण्डलमा ३० जना मन्त्री भएको ठिक हुन्थ्यो । यति धेरै राज्यमन्त्रीहरु बनाउनु पर्दैनथ्यो । यसले गरिब नेपालीहरुको थाप्लोमा थप भार थपिएको छ । प्रधानमन्त्री बन्ने नेताहरुले यो खालका कमीकमजोरीहरु गर्नु हुँदैन । यस्तै कमीकमजोरी गर्दै गए कसरी राम्रो हुन्छ त ? पचास जनाको मन्त्रीमण्डल बनाएर निकै गल्ती भएको छ ।

कांग्रेसले विगतमा माओवादी केन्द्रसँग गरेको चुनावी तालमेलका बारेमा चाहि यहाँको धारणा के हो नि ?
–चुनावमा माओवादी केन्द्रसँग गरिएको तालमेलबारे मेरो असहमति थियो र अहिले पनि असहमति रहेको छ । पार्टीहरु बीचको तालमेल त सरकार बनाउँदा हुने हो, चुनावमा कसरी तालमेल हुनसक्छ ? जनताका बीचमा कसरी तालमेल हुन्छ ? मेरो विचारमा यो सैद्धान्तिक रुपमै गलत छ । पार्टीहरुका त आ–आफ्ना सैद्धान्तिक दृष्टिकोण अनुसारका घोषणापत्रहरु छन् ।

आफ्नो पार्टीको चिन्हमा अर्को पार्टीलाई कसरी भोट माग्न सकिन्छ ? विपरित पार्टीको चिन्हमा भोट माग्न सैद्धान्तिक दृष्टिकोणबाट असम्भव कुरा हो । यो विषयमा मैले केन्द्रीय समितिमै कुरा उठाएको थिए र अहिले पनि उठाइरहेको छु । यो सवालमा त नेपालका कुनै पार्टी अछुतो रहेका छैनन् । सबैले आफ्नो सैद्धान्तिक दृष्टिकोणलाई नै बिर्सिएर तालमेल गरेका छन् । चाहे त्यो कांग्रेस होस् वा एमाले र माओवादीनै किन नहुन । उनीहरुको पनि त्यही अवस्था छ ।

आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को चुनावमाचाहि तालमेलको सम्भावना कत्तिको देख्नुहुन्छ ?
–पहिलो र दोश्रो चुनावमा माओवादी केन्द्रसँग तालमेल गरेर नेपाली कांग्रेसले गल्ती गर्यो । यो उसको कमजोरी हो । माओवादीसँग तालमेल गरेकै कारण त्यसबेलाको चुनावमा नेपाली कांग्रेसले आफ्नो पक्कडमा रहेका ३०–३५ वटा स्थानीय तह गुमायो । यसमा पार्टीभित्रको अन्तर्घातले पनि काम गरेको देखिन्छ । तर स्थानीय नेता,कार्यकर्तालाई मात्र यसमा दोष दिएर हुँदैन ।

उनीहरुलाई कार्वाही गर्ने धम्की दिएर मात्र पार्टी सफल हुने होइन । विगतको इतिहासमा कांग्रेसको नीति विपरित काम गर्दा थुप्रै नेता–कार्यतकर्ताहरुलाई कार्वाही भएको देखिन्छ । नेताहरुलाई कार्वाही गर्दैमा पार्टी बन्ने पनि होइन । निर्वाचनमा जनताले त कांग्रेसलाई मत दिएकै हो । आफ्नै कारणले हामी दोश्रो हुन पुग्यौं ।

उदाहरणका लागि भरतपुरमा नेपाली कांग्रेसको ४५ हजार, एमालेको ३४ हजार र माओवादीको १५ हजार मत हो । त्यहाँ कांग्रेसले कसैसँग तालमेल नगरी चुनाव जित्न सक्थ्यो । भरतपुरमा कांग्रेसले ठूलो गल्ती गर्यो । यस्ता थुप्रै गल्तीका कारण कांग्रेस दोश्रो भएको हो । त्यसैले आगामी चुनावमा माओवादी केन्द्रसँग तालमेल गरेर त्यो गल्ती दोहोर्याउनु हुँदैन ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र संघीय संसदको चुनावको तयारीबारे यहाँको धारणा के छ ?
–आगामी मंसिर १० र २१ गते मुलुकभर प्रदेशसभा र संघीय संसदको चुनाव हुँदैछ । यसमा नेपाली कांग्रेसले पनि राम्रो तयारी गरिरहेको छ । यो चुनावमा भने कांग्रेसले अलि कडा कदम चाल्नुपर्छ । नेपाली कांग्रेस पहिलो हुन अघिल्ला चुनावमा अन्तरघात गर्ने साथीहरुलाई माया नगरी कार्बाही गर्नुपर्छ । अबको चुनावमा तालमेल गर्नै हुँदैन ।

कांग्रेसले आफ्नो नीति र विचारलाई स्पष्ट रुपमा जनताका बीचमा लिएर जानुपर्छ । विगतमा जस्तो तेरो र मेरो भन्ने फोहोरी प्रतिस्पर्धाबाट होइन, राम्रोलाई मत दिने कुरामा जोड दिनुपर्छ । त्यसपछि कांग्रेस पहिलो पार्टी बन्नबाट रोक्न कसैले सक्दैन । यही तयारीका साथ मंसिर १० र २१ गतेको चुनावमा कांग्रेस अघि बढिरहेको छ ।

प्रसंग बदलौ, तपाई भ्रष्टाचार विरुद्धको अभियानमा यति धेरै सक्रिय भएको नेतालाई नेतृत्वले किन मन्त्रीमा सिफारिस गरेन ? के तपाईले सरकारमा जान रुची नदेखाउनुभएको हो ?
–दुनियाँलाई थाहा छ कि नेपालका हरेक पार्टीमा खल्तीबाट निकालेर मन्त्री बनाइने चलन छ । यो प्रवृत्ति नेपाली कांग्रेसभित्र पनि रहेको छ । यो प्रवृत्ति देख्दा म मन्त्री हुन नपाएकोमा निकै सन्तुष्ट छु । मन्त्री भनेको झण्डा हल्लाएर मन्त्रालय धाउन मात्र जाने होइन नि । त्यो त कार्यकारी पद हो । त्यहाँ गएर कुनै पनि परिणाम निकाल्न सकिएन भने मन्त्री हुनु बेकार छ ।

मलाई तपाईजस्तो लोकप्रिय मान्छे मन्त्री बन्नुपर्छ भन्ने प्रस्ताव पनि आएको हो तर मलाई आफु मन्त्री बन्न नपाएकोमा कति पनि चित्तदुखेको छैन । मन्त्रीमण्डल बनाउँदा चाहि २५–३० जनाको मात्र बनाएको भए हुन्थ्यो भन्ने मेरो सुझाव हो ।

यो त मामाको धन फुपुको श्राद्ध गर्ने शैलीमा उडाएको देखियो । तैपनि मन्त्री भएकाहरुलाई मेरो तर्फबाट सफल कार्यकालको शुभकामना दिन चाहान्छु । मन्त्री भएर भ्रष्टाचार गर्न जाने होइन, जनताको पक्षमा काम गर्न जाने हो । जनताको पक्षमा काम गर्न म सबै मन्त्रीमण्डलका सदस्यसँग आग्रह गर्छु ।

अन्तमा केही भन्नु छ ?
मुलुकमा पछिल्लो समय जसरी राजनीतिक,आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका सबै क्षेत्रमा विकृति र विसंगति देखिन थालेको छ, यसले मुलुकको विकास हुन दिँदैन । लाखौं युवाहरु विदेशिएका छन् । सबैतिर भ्रष्टाचार व्याप्त छ, जताततै अराजकता र अन्योल देखिएको छ । यसको सही व्यवस्थापन गर्नुपर्छ ।

नेपालमा पछाडि कुरा काट्ने र अगाडि माला लगाइदिने प्रवृत्ति व्याप्त छ । यसमा भ्रष्ट प्रवृत्तिका मान्छेहरुको समेत अत्याधिक बाहुल्यता देखिन्छ, तिनीहरुले राम्रो काम गरेका छैनन् । त्यो प्रवृत्तिविरुद्ध सबै सञ्चारकर्मी, नागरिक समाज र राजनीतिक दल र त्यसका नेताहरु लगायत सबैले हातेमालो गरेर लड्नु आजको आवश्यकता हो । यो अभियानमा सबै लागौं ।