कुराकानी

इटहरी एमालेको गढ होइन, अब कांग्रेसको कब्जामा हुन्छ ! (अन्तरवार्ता)

इटहरीका व्यावसायी एबम् काँग्रेस नेता रोहित प्रसाईले सुनसरी जिल्ला अन्तर्गत पर्ने इटहरी उपमहानरपालिकामा कांग्रेसको तर्फबाट मेयरको टिकट पाएका छन् । स्थानीय स्तरमा निकै खारिएका र स्थापित नेताका रुपमा चिनिने प्रसाई उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत हुन् । इटहरीलाई पूर्वकै नमुना शहरको रुपमा विकास गर्ने सपना देखेर मेयरको चुनाव लड्न लागेको बताउने प्रसाईसँग गरिएको कुराकानीलाई हामीले यहाँ सम्पादनसहित प्रस्तुत गरेका छौ :

पार्टीले तपाईलाई मेयरको उम्मेद्वारका लागि टिकट दिएको छ, अब चुनावी तयारी कसरी गर्दै हुनुहुन्छ ?
–मैले आफ्नो पार्टीले अघि सारेका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने उद्धेश्यका साथ चुनावी तयारी गरिरहेको छु । पार्टीले मलाई मेयरको उम्मेद्वारको लागि टिकट दिएको छ । इटहरीका जनता र कार्यकर्तासँग सल्लाह गरेर अघि बढ्ने तयारी गरेको छु । हामी यसबेला चुनावको तयारीमा घनिभूत ढंगले लागेका छौ । घरदैलो अभियान जारी छ ।

यसअघि एमालेको गढ क्षेत्रको रुपमा चिनिने इटहरीमा, उससँग कसरी प्रतिस्पर्धा गर्ने तयारी गरिरहनुभएको छ ?
–अहिले इटहरीलाई एमालेको गढ भनिरहनु पर्दैन । किनभने स्थानीय चुनाव नै २० वर्ष पछि हुँदैछ । २० वर्षसम्म चुनाव नभएको अवस्था, दशकौ लामो राजनीतिक द्वन्द, मधेस आन्दोलन यी अवस्थाले गर्दा पहिलेको राजनीतिक स्थिति अहिले पुरै परिवर्तन भइसकेको छ । यी सबै परिस्थितिले इटहरीमा पनि थुप्रै समस्याहरु अघि ल्याइदिएको छ । ती समस्याहरुको समाधान गर्न मलाई अहिले पार्टीले मेयरको उम्मेद्वारको रुपमा उठाएको छ । जनताले विकास र परिवर्तन खोजिरहेका छन् । नेपाली कांग्रेसले यी एजेण्डा लिएर जनतामा जाँदैछ । अहिले इटहरीमा कुनै पार्टीको गढ छ भनेर किटान गर्नै मिल्दैन । हामीले लिएर गएका एजेण्डाले कांग्रेसको जित हुन्छ भन्ने लाग्छ ।

यो क्षेत्रमा विशेषगरी चौधरी समुदायको बसोबास बढी रहेको देखिन्छ । यो समुदायलाई समेट्ने योजनाचाहि के ल्याउनुभएको छ ?
–वास्तवमा हाम्रो क्षेत्रमा रहेका चौधरी समुदायको समस्यालाई अहिलेसम्म कुनै पार्टीले राम्रोसँग हेर्न सकेनन् । अहिले हामीले भने चौधरी समुदायको हक, हित र अधिकारका विषयलाई उठान गरिरहेका छौ । चौधरी समुदायका थुप्रै युवाहरु समेत कांग्रेसमा प्रवेश गरिरहेका छन् । चौधरी लगायत सबै जातिहरुलाई हामीले समेटेर अघि बढ्ने तयारीमा हामी रहेका छौ ।

इटहरीलाई पूर्वाञ्चलका अन्य शहरहरुको तुलनामा कसरी विकास गर्ने योजना बनाइरहनुभएको छ ?
–वास्तवमा भन्नु पर्दा इटहरीमा पूर्वाधारहरु कम छन् । हामीले इटहरीको विकास गर्न पूर्वाधारहरुको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छौ । इटहरीको विकासको मोडलमा हामीले केही महत्वपूर्ण विषयहरुलाई उठान गरिरहेका छौ । जस्तै इटहरी उपमहानगरपालिकाको कृषियोग्य भूमीलाई थप उर्वर र उब्जनीयोग्य बनाउन हामीले सेराखोलालाई तान्ने योजना बनाएका छौ । त्यस्तै, कृषि विश्वविद्यालय, सडक, अस्पताल लगायतका विकासका पूर्वाधारहरुलाई हामीले विशेष प्राथमिकतामा राखेर अघि बढिरहेका छौ । इटहरीका जनताले हिलोमा टेकेर घर फर्किने अवस्थाको हामी सडक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर अन्त गर्दैछौ । समग्रमा भन्नुपर्दा इटहरीका जनताले मागेको कुरा हामी दिन तयार छौ ।

उपमहानगर भएपनि इटहरीमा एउटा मान्छे विरामी भयो भने कि त विराटनगर कि त धरान लैजानुपर्ने अवस्था छ, यो अवस्था देख्दा तपाईलाई आत्मग्लानी लाग्दैन ?
–यो सही प्रश्न उठाउनुभयो । हो हामीलाई यसमा असाध्यै आत्मग्लानी छ । त्यसैले हामीले तत्काल इटहरीमा ५० शैयाको ट्रमा सेन्टर र २ सय ५० शैयाको अस्पताल निर्माण गर्ने योजना बनाएका छौ । यी काम तत्काल गर्न समस्या छ, तर हामीले योजना अघि सारिसकेका छौ । अब इटहरीका जनताले बिरामी पर्दा विराटनगर र धरान धाउनुपर्दैन ।

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य भइसक्नुभएको व्यक्ति हुनुहुन्छ, किन मेयरमा लड्न लाग्नुभयो, अरु स्थानीय नेतालाई अवसर दिएको भए हुन्नथ्यो र ?
– हो मैले यो पटक मेयरमा लड्ने निधो गरे । किनभने यो सवालमा मलाई पार्टीले पत्याएर टिकट पनि दिएको छ । म २०४६ साल देखिनै कांग्रेसको तर्फबाट राजनीतिक रुपमा समाजमा योगदान गर्दै आएको व्यक्ति हुँ । मैले  राजनीतिक र सामाजिक क्षेत्रमा निकै काम गरेको छु । त्यसकारण पनि मैले पार्टीबाट टिकट पाउँदा धेरै साथीहरु खुसी हुनुहुन्छ । इटहरीका कोही साथीहरु असन्तुष्ट हुनुहुन्न । सभापति राजीव कोईराला र  जिल्ला पार्टीको सिफारिसमा केन्द्रले मलाई टिकट दिएको हो । यसमा कसैको असहमति छैन । म भन्दा धेरै अगाडीको पुस्तादेखी राजनीतिमा लागेको परिवारको सदस्य हुं, केहि गर्ने ईच्छा भएर नै मेयर बन्ने ईच्छा राखेको हुं ।

सुनसरी, इटहरी र विराटनर अनि कांग्रेस राजनीतिको सम्बन्धबारे केही बताइदिनुस् न ?
–सुनसरी, इटहरी र विराटनगर मात्र होइन, नेपाली कांग्रेस पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हातेमालो गरेर अघि बढिरहेको पार्टी हो । सुनसरी, इटहरी र विराटनगर त झन् एकअर्कासँग जोडिएका स्थानहरु हुन् । हाम्रो पार्टीमा यहाँ पनि राम्रो सम्बन्ध छ । नेपाली कांग्रेस जनताका गाँस, बास, कपास, शान्ति, स्थायित्व, विकास र परिवर्तनको एजेन्डा लिएर हिडेको पार्टी भएकोले सिंगो देशमा एक भएर अघि बढिरहेको पार्टी हो । त्यसैले यहाँ पनि हाम्रोबीचमा राम्रो सम्बन्ध रहँदै आएको छ । काँग्रेसका संस्थापक नेता वीपी कोईराला देखी, गिरिजाप्रसाद कोईराला, कृष्ण प्रसाद भट्टराई जस्ता नेताहरु उत्पादन भएके ठाँउ हो यो । जसको सिद्धान्तमा टेकोर काँग्रेस हिंडेको छ र हामी काँग्रेसी समाजसेवा गरिरहेको छौं । काँग्रेसका लागी अझ महत्वपूर्ण क्षेत्र हो बिराटनगर अनि सुनसरी ।

तपाई किन इटहरीबाटै मेयरमा चुनाव लड्दै हुनुहुन्छ ?
– म इटहरीको विकास र समृद्धिको लागि चुनाव लड्दैछु । मेरा जनतामा समर्पित भएर इटहरीको विकास र समृद्धि भन्दा बाहेक अन्य कुनै स्वार्थ छैन । त्यसमा पनि,  म ईटहरीको पुरानो बासिन्दा र यो क्षेत्रको समइयाको बारेमा जानकार ब्यक्ती हुं । नेबिंसंघदेखी नै काँग्रेस राजनीतिमा सकृय भएर समाजसेवामा लागेको ईमान्दार कार्यकर्ता भएको नाताले काँग्रेसबाट मेयर लडि केही गर्ने सोच बनाएर मेयर लड्न लागेको हुं । पार्टीमा प्रयास गर्दा पत्याएर टिकट दिएको छ, यसमा पार्टीलाई धन्यबाद दिदै यस क्षेत्रका सबैलाई निरास हुन नदिने प्रण गर्दछु ।

अन्त्यमा केहि भन्नु छ ?

मलाई लाग्छ, मैले ईटहरीको सुख दुःखलाई बुझेको छ, काँग्रेसले पत्याएर टिकट दिएके छ, पार्टी सभापति राजीव कोईराला लगायत सबै सुनसरीक काँग्रेस लगायतलाई धन्यबाद दिदै मलाई भत दिएर जिताउन ईटहरीबासी आदरणीय दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आग्रह गर्दछु, यहाहरुलाई निरास हुन दिनेछैन भन्ने प्रण समेत गर्दछु ।