राजनीति

कानून विपरित अर्बौं ‘कालो धन’ बाहिर्याउने/भित्र्याउनेलाई निष्पक्ष छानबिन गरी कारबाही होसः विवेकशीला साझा

काठमाण्डौ । देशभित्रको अर्बौंको ‘कालो धन’ लाई ट्याक्स हेभेन भनेर चिनिएका देशमा अवैध तवरबाट जम्मा गरी वैदेशिक लगानिका रुपमा ‘सेतो धन’ बनाएर फेरी नेपाल भित्र्याउने र कानून विपरित विदेशमा लगानी गर्ने बारे प्रमुख दैनिकहरुमा महत्वकासाथ प्रकाशित समाचारप्रति विवेकशिल साझा पार्टी गंभिर ध्यानाकर्षण भएको जनाएको छ।

‘यो गैरकानूनी धन्दाको यथाशिघ्र विश्वसनीय र निष्पक्ष छानविन गरि कानुनी कारवाहिको प्रकृया शुरु गर्न नेपाल सरकारसँग विवेकशील साझा पार्टी जोडदार माग गर्दछ। मुलुककै अर्थतन्त्र तहस–नहस पार्न सक्ने यो धन्दाको विरोध र सरकारलाई निरन्तर खबरदारी गर्नका लागि हामी सबै राजनीतिक दल र नागरिक समाजलाई आह्वान गर्दछौं’ ‘प्रवक्ता सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कुशासन र भ्रष्टाचारको दिनहुँका समाचारले मुलुकको भविष्यप्रति नागरिकमा चरम निराशा छाईरहेको अवस्थामा ठुलो स्तरमा ‘कालो धन’ लाई ‘सेतो बनाउने’ र देशको कानून विपरित विदेशमा लगानी गर्ने कार्यले समग्र अर्थतन्त्रलाई नै धरासायी बनाउने डरलाग्दो अवस्था श्रृजना भएको विवेकशीलले विश्लेशष गरेको छ।

विश्व आर्थिक तथा वित्तिय प्रणालीमा नेपालको छवि रसातलमा पुग्ने जोखिम बढेको छ। देशभित्रै ठुलो परिणामको कर छलि र त्यसको प्रत्यक्ष प्रभाव राजनीतिक तथा नीतिगत तहको भ्रष्टाचार मौलाएको स्पष्टरुपमा देख्न सकिन्छ। जतिबेलासम्म सरकारले भ्रष्टाचारको विषयलाई ठोसरूपमा सम्वोधन गर्न सक्दैन त्यतिबेलासम्म विकास र समृद्धिको नारा खोक्रो नै रहिरहने छ, विज्ञप्तीमा भनिएको छ ।

यस्तो गम्भिर विषयमा लामो समय लगाएर खोजमूलक रिपोर्टहरू तयार पार्ने खोज पत्रकारिता केन्द्र (खोपके) प्रति विवेकशील साझाले विशेष आभार समेत प्रकट गरेको छ । पार्टीले खोपकेबाट भविष्यमा पनि यस्तै खुलासाहरूको अपेक्षा समेत गरेको छ ।