प्रदेश 1

महाप्रबन्धक पौडेल उदयपुरवासीद्वारा अभिनन्दीत

गाईघाट । देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका निवर्तमान महाप्रबन्धक तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई उदयपुरमा नागरिक अभिनन्दन गरिएको छ ।

महाप्रबन्धक हुँदा पौडेलले सिमेन्ट उद्योगमा व्यापक सुधार ल्याएर शतप्रतिशत सिमेन्ट उत्पादन गर्न सफल भएको भन्दै बुधबार उदयपुरको जलजले तथा देउरीका स्थानीयवासीले नागरिक अभिनन्दन गरेको जलजलेका समाजसेवी कृष्णप्रसाद पराजुलीले बताए ।

यस्तै बुधबार नै पौडेललाई त्रियुगा उद्योग वाणिज्य सङ्घ उदयपुरले समेत भव्य नागरिक अभिनन्दन गरेको थियो । विगतमा धाराशायी भएको उदयपुर सिमेन्ट उद्योगलाई सुधार गरेर अहिले क्षमताभन्दा बढी सिमेन्ट उत्पादन गर्नसक्ने बनाएको भन्दै सङ्घले पौडेललाई नागरिक अभिनन्दन गरेको सङ्घका अध्यक्ष गजेन्द्रकुमार भगतले बताएका छन् ।

जिल्लाका विभिन्न गैरसरकारी सङ्घ संस्था तथा नागरिक समाज गाईघाटले समेत निवर्तमान महाप्रबन्धक पौडेललाई नागरिक अभिनन्दन गरेको उदयपुरका नागरिक अगुवा कृष्णकुमार श्रेष्ठले बताए । तीन वर्षअघिसम्म आर्थिकरूपमा धाराशायी भएको उदपुर सिमेन्ट उद्योगलाई पौडेल महाप्रबन्धक भएर आएपछि उद्योगको प्राविधिक, भौतिक र प्रशासनिक सुधार गरेपछि अहिले उद्योगले सिमेन्ट उत्पादनमा ठूलो फड्को मारेको नागरिक अगुवा बताउँछन् ।

प्रतिदिन ८०० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन क्षमता रहेको उदयपुर सिमेन्ट उद्योगमा दुई वर्ष अघिसम्म दैनिक ५५० देखि ६०० मेट्रिक टनसम्म मात्र उत्पादन हुने गरेको थियो । पौडेल महाप्रबन्धक भएर आएपछि उद्योगले दैनिक ७०० देखि ७५० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै अहिले दैनिक क्षमता ८०० मेट्रिक टनभन्दा पनि बढी ८५० मेट्रिक टन उत्पादन गर्न थालेको छ ।

दुुई वर्ष अघिसम्म वार्षिक रु २५ करोड घाटामा रहेको उद्योगलाई पौडेलले वार्षिक रु ३५ करोडसम्म नाफामा पु¥याउनु भएको थियो । कुशल महाप्रबन्धक भएकै कारण उहाँलाई केही दिनअघि मात्र नेपाल सरकारले नेपाल आयल निगममा कार्यकारी निर्देशकको रूपमा नियुक्त गरिसकेको छ ।