गण्डकी प्रदेश

खानेपानी जोहो गर्न बिहानैदेखि लाइन

दमौली । बिहान चार बजे उठेर धारोमा पानी भर्न लाइन बस्नुपर्छ । तीन ग्रागीभन्दा बढी भर्न पाइँदैन । एउटा टोलको धारोमा पानी खोल्यो कि अर्को टोलमा पानी आउँदैन । खानेपानीको जोहो गर्नमै दिन बित्ने गर्छ ।

तनहुँको भीमाद नगरपालिका–२ रघुगाउँका बासिन्दाले सधैँ पानीका लागि यस्तै पीडा भोग्न बाध्य छन् । बिहान चार बजेदेखि नौ बजेसम्म मात्रै पानी आउने भएकाले झिसमिसेमै लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी भिमशिला थापा बताए । “बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने चिन्ता रहन्छ,” उनले भने ।

धारोमा पर्याप्त पानी नआएपछि पँधेरोको भर पर्नुपर्ने स्थानीयवासी पूर्णिमाया आलेले बताए । दुई सय ४९ घरधुरी रहेको उक्त गाउँमा पाँच पँधेरो छ । उनले भने, “पँधेरासम्म पुगेर पानी भरेर आउँदा एक घण्टाभन्दा बढी लाग्छ । वर्षात्को समयमा पँधेरोको पानीले जसोतसो पुग्छ, हिउँदमा घण्लाटौँ लाइन बस्नुपर्छ ।” परिवारको एक जना खानेपानीकै जोहो गर्न खटिनुपर्छ । “खानेपानी भर्न लाइन बस्नुपर्दा कहिलेकाहीँ छोराछोरीलाई विद्यालय पठाउन सक्दैनौँ,” आलेले भने ।

मगर बस्ती रहेको रघुगाउँमा खानेपानी समस्या समाधानका लागि रु दुई करोडको लागतमा केन्द्रीय परियोजनाअन्तर्गत खानेपानी आयोजना निर्माण थालिएको छ । रघु खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर थापा बजेट अभावमा दुई वर्षदेखि आयोजनाको काम रोकिएको बताए । खानेपानीको मुहानमा मुख्य ट्याङ्की तथा तीन शाखा ट्याङ्कीसमेत निर्माण गरिएको छ । शाखा ट्याङ्कीसम्म पाइप विस्तार गरिएको छ भने मूल ट्याङ्की, वितरण लाइनको पाइप विस्तार तथा पानीको मूललाई तारजालीले घेर्न बाँकी छ । दुई वर्षयता आयोजना निर्माणका लागि बजेट विनियोजन गरिएको छैन । दुई वर्षभित्र सक्ने गरी २०७१ कात्तिकमा उक्त आयोजना निर्माणको काम थालिएको हो ।