कर्णाली प्रदेश

टिमुरको तेल विदेशमा पनि

सल्यान । सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन हुँदै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार १०० किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको उनले बताए । “गएको वर्षभन्दा यस वर्ष टिमुरको तेलको मूल्य पनि बढेको छ, यस वर्ष टिमुरको तेल प्रतिकिलो रु १७ हजारका दरले ४०० किलो काठमाडौँ पठाइसकेका छौँ”, सञ्चालक न्यौपानेले भने ।

“उद्योग शुरु गर्दा आम्दानी गर्न सकिँदैन की भन्ने चिन्ता भए पनि विगत तीन वर्षमा राम्रो आम्दानी भएको र अहिले जिल्लाभित्रका टिमुर उत्पादन हुने क्षेत्रबाट टिमुर सङ्कलन गरी प्रशोधन गरिरहेका छौँ, उद्योगलाई धान्न सक्ने टिमुरको उत्पादन जिल्लामै हुने भएकाले पनि सजिलो भएको छ”, उनले भने । उक्त उद्योगमा सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकाबाट टिमुर आउने गरेको छ ।

उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यालयले आर्थिक सहयोगका साथै टिमुर ग्रेडिङ गर्ने उपकरण उपलब्ध गराएको, प्रधानमन्त्री कृषि कार्यक्रम परियोजनाले मसला उद्योगका लागि सहयोग गरेको र घरेलु व्यवसाय सञ्चालन गर्न सबैबाट सहयोग पाइएकाले काममा सहज भएको उनले बताए । एक क्विन्टल टिमुरबाट चार किलो तेल उत्पादन हुने न्यौपानेको भनाइ थियो ।

यहाँ उत्पादन गरिएको टिमुरको तेल काठमाडौँमा व्यापारीसम्म पठाउने गरिएको र व्यापारीले फ्रान्सलगायतका विभिन्न देशमा तेल पठाउने गरेको अर्का उद्योग सञ्चालक तथा सल्यान उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर चलाउनेले बताए । “प्रशोधित टिमुर र टिमुरको तेल हामीले चौधरी ग्रुपलाई बेच्ने गरेका छौँ, चौधरी ग्रुपले नै तेल विदेश पैठारी गर्ने र आफूले समेत उपयोग गर्ने गरेको छ”, अध्यक्ष चलाउनेले भने । सल्यानका वनगाड कुपिण्डे नगरपालिकाको ९ र १२ छत्रेश्वरी गाउँपालिकाको १, २ र ४ र बागचौर नगरपालिकाको ७, ८ र १२ वडामा व्यावसायिक रुपमा टिमुर उत्पादन भइरहेको छ ।