समाचार

लगानी सम्मेलनको दातासँग परामर्श बैठक

काठमाडौँ । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो ।

सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय साझेदारले कानूनी, शासकीय र प्रक्रियागत सुझाव दिएका थिए ।

काठमाडौँस्थित अधिकांश कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुख, बहुपक्षीय एवं द्विपक्षीय विकासका साझेदार, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सहभागी उक्त बैठकमा उनीहरूले नेपालमा लगानी भित्र्याउन र सम्मेलनलाई सफल तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्री खतिवडाले बताए । सम्मेलनमा नेपालको कृषि, ऊर्जा, भौतिक पूर्वाधारअन्तर्गत रेल, सडक र हवाई सेवा सञ्चालन तथा विस्तार, उद्योग र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने विषयमा विस्तृत छलफल हुनेछ ।

लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह आयोजनामा हुने उक्त सम्मेलन मुलुकलाई समृद्ध बनाउन आवश्यक बाह्य लगानी भित्र्याउन सफल हुने विश्वास गरिएको छ । यसअघि २०७३ सालमा गरिएको लगानी सम्मेलन फलदायी भएको निष्कर्ष निकाल्दै सरकारले थप लगानी प्रवद्र्धन गर्न पुनःअन्तराष्ट्रियस्तरको लगानी सम्मेलन गर्न लागेको हो ।