बाग्मती

सहकारी पुरस्कार कृषि केन्द्रीय सङ्घलाई

काठमाडौँ । हरेक वर्ष प्रदान गरिने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार यस वर्ष नेपाल कृषि सहकारी केन्द्रीय सङ्घलाई प्रदान गरिएको छ ।

नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यको आर्थिक, सामाजिक एवं सचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले सङ्घलाई उत्कृष्ट सहकारीका रूपमा रु ५० हजारसहित सम्मान गरिएको हो ।

संस्थाको ३४औँ साधारणसभामा पुरस्कार राशि वितरण गर्दै राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले किसानलाई एकजुट बनाई कृषि पेशामा लाग्न सङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेमबहादुर पाठकले २० सहकारीमध्ये छनोट भई सम्मानित भएको सङ्घले गाउँघरका साना तथा पिछडिएका किसानलाई कृषि पेशामा गोलबद्ध गरी अनुकरणीय काम गरेको बताए ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, साझा सेवा सहकारी संस्थाका अध्यक्ष भीमबहादुर अधिकारीलगायतले समाज सुधारका लागि कृषि सहकारीले समाजमा रचनात्मक काम गरेको जानकारी दिए ।