समाचार

रत्ननगरका जनप्रतिनिधिका लागि आचारसंहिता

भरतपुर । रत्ननगर नगरपालिकाले जनप्रतिनिधिका लागि आचारसहिंता जारी गरेको छ ।  जनप्रतिनिधिलाई जिम्मेवार र पारदर्शी बनाउन जारी गरिएको आचारसंहिता आइतबार सम्पन्न चौथो नगरसभाले पारित गरेको हो ।

नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी गरिएको नगरप्रमुख नारायण वनले बताए। आचारसंहितामा जनप्रतिनिधिले नगरपालिकाभित्र पान, गुड्खा खान पाउने छैनन् भने नगरभित्रका कुनै पनि ठेक्कापट्टाको काम गर्न र गराउन पाउने छैनन् । आचारसंहिता पालना भए नभएकोबारे अनुगमन गर्न नगरप्रमुखको अध्यक्षतामा उपप्रमुख सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरी समिति निर्माण गरिएको छ ।

जनप्रतिनिधिका लागि आचारसंहितासहित बालमैत्री नगरसम्बन्धी आचारसंहिता र विभिन्न योजना संशोधन प्रस्ताव पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुलाल रेग्मीले जानकारी दिए।

सन् २०१९ भित्र नगरपालिकालाई बालमैत्री नगर बनाउने लक्ष्य लिइएकाले बालमैत्रीसम्बन्धी आचारसंहिता नगरसभाले पारित गरेको हो । नगरसभामा विधान मस्यौदा समितिका संयोजक तीलकराज शर्माले बालमैत्री आचारसंहिता प्रस्ताव, मस्यौदा समिति सदस्य अपिल अधिकारीले जनप्रतिनिधिको आचारसंहिता र कार्यपालिका सदस्य राजेन्द्र हमालले योजना संशोधन प्रस्ताव पेश गरेका थिए ।

नगरसभामा सबै प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको नगरप्रमुख वनले जानकारी दिए । नगरसभाले वडागत र नगरस्तरीय विभिन्न ३२ वटा योजना संशोधन गरी २९ वटामा झारेको छ ।