समाचार

गृहमन्त्री थापाद्वारा स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास

काठमाडौँ । ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताए । रु १८ करोडको लागतमा १८ वटा भवन विहार एक वर्षभित्र पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइएको स्वयम्भू पुनःनिर्माण उपभोक्ता समितिका सभापति ईश्वर बुद्धाचार्यले जानकारी दिए ।

पुरातात्विक सम्पदाका संरक्षणमार्फत नै नेपाललाई समृद्ध बनाउन सकिने प्रस्टयाउँदै अब बस्ने पुनःनिर्माण निर्देशक समितिको बैठकले उक्त सम्पदाको पुनःनिर्माणलाई थप गति दिने विश्वास व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माण गर्न महानगर प्रतिबद्ध रहेको बताउँदै विभिन्न निकायले अवरोध सिर्जना गरेकाले पर्याप्त बजेट विनियोजन हुँदा पनि यसले गति लिन नसकेको बताए ।

काठमाडौँ क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरले विगतमा राजनीतिक स्थिरताका कारण पुनःनिर्माण अलपत्र परेको उल्लेख गर्दै दुई तिहाइसहितको स्थिर सरकारले पुनःनिर्माण र राष्ट्र निर्माणलाई प्राथमिकता दिएको बताए।

कामपा १५ नं वडाध्यक्ष ईश्वरमान डङ्गोलले पुरातात्विक संरचनामा कुनै फरक नपर्ने गरी पुनःनिर्माणको अभियान थालनी गरिएको जानकारी दिए । पुनःनिर्माण समितिका अध्यक्ष बुद्धाचार्यले स्थानीय निर्वाचनपछि स्वयम्भू क्षेत्रको पुनःनिर्माणले तीव्रता पाएको बताए । काठमाडौँ महानगरपालिकाको संयोजनमा स्वयम्भू क्षेत्रको पुनःनिर्माण भइरहेको छ ।