कर्णाली प्रदेश

मदिरा नष्ट

हुम्ला । प्रहरीले बेवारिसे अवस्थामा भेटाएको अवैध मदिरा आज नष्ट गरेको छ । बजार गस्तीको टोलीले बिहीबार राति सिमिकोट माथिल्लो गाउँ पाखो जमीनमा भेटाएको भन्दै आज चाइनिज झिनीगिन्टी १५ कार्टुन दुई बोतल र ४२ कार्टुन क्यानवियर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताए ।

अहिलेसम्म जिल्लाका विभिन्न नाकाबाट भित्रने अवैध मदिरा तीन महीनाको अवधिमा तीन हजार कार्टुनभन्दा बढी चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरीले तीन महीनामा तीन हजार ८६ कार्टुन चाइनिज रक्सी बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले प्रहरी धेरै कारोवार गर्नेको खोजीमा भएकाले तीन हजार कार्टुन नष्ट हँुदासमेत नाम बताउन नचाहेको बताए ।

प्रहरीले चङ्खेली गाउँपालिका पाँचको टाँके नाकाबाट दुई हजार ९०८ कार्टुन र सिमिकोट गाउँपालिका च्वाखोलाबाट १६० कार्टुन चिनियाँ झिनीगिन्टी मदिरा बरामद गरे तापनि मदिरा व्यापारीको नाम गोप्य राखेको छ । प्रहरीले सिमिकोट गाउँपालिकाबाट ६७ बोतल क्यान बियर र चङ्खेली गाउँपालिका एक मिमी गाउँबाट ८७० लिटर घरेलु मदिरा बरामद गरेको थियो ।