कृषि

सुन्तलाका बोट सुकेपछि किसान चिन्तित

सल्यान । जिल्लाकै सुन्तलाको मुख्य क्षेत्र घोषणा गरिएका स्थानमा सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित हुन थालेका छन् ।
व्यावसायिक रुपमै सुन्तला खेति गरिरहेका वागचौर नगरपालिका–८ कोटमौलामा सुन्तला बगैचामा बोट सुक्न थालेपछि किसान चिन्तित भएका हुन् । सुन्तलाका बोट र फलमा धमाधम ढुसिको संक्रमण फैलिएर किसान समस्यामा परेका छन् ।

सुन्तलामा बोक्रा कुहिने देखि रुख सुक्ने समस्या देखिएको सुन्तला उत्पादक अङ्गेश्वर डाँगीले बताए । सोकोे नियन्त्रणमा सरोकारवालाको ध्यान पुग्न नसकेमा झन समस्या आउने उनले जानकारी गराए।  सुन्तलामा क्याङकर भाइरसका कारण रुखमै बोक्रा कुहिने समस्या देखिएको नगरपालिकाका कृषि शाखा प्रमुख हनुमान प्रसाद यादवले बताए। सिक्टासिला भाइरसका कारणले ग्रिनिङ्ग रोगको समस्या देखिएको हुन सक्ने उहाँले जानकारी दिए ।

सुन्तलाका बोटमा पात पहेँलो हुदै जाने, प्रत्येक वर्ष फल सानो हुँदै जाने तथा फलमा स्वाद हराउदै जाने समस्या देखिएको बताइएको छ ।
सुन्तलामा रोगकिराको समस्या बढ्दै गएपछि न्युनिकरणका लागि पहल शुरु गरिएको नगर प्रमुख लोकमान वुढाथोकीले जानकारी दिए । उनले भने, “मैले यसका जानकारसँग सम्पर्क गर्दा रोग लागेको रुख र फलको नमुना २४ घण्टा भित्र काठमाडौँ प्रयोगशालामा पुग्ने गरि पठाउनुपर्ने रहेछ ।”

ल्याव टेष्टबाट प्राप्त रिर्पोटका आधारमा आगामी दिनमा रोग नियन्त्रणका लागी ठोस योजना ल्याइने उनले बताए । एक वर्षमा एउट किसानका १० देखि २० वटा सम्म सुन्तलाका बोट तथा हाँगा सुक्न थालेका छन् । सुन्तला उत्पादक किसान भरतनाथ योगीले कोटमौलामा मात्रै पाँच सयदेखि एक हजारको हाराहारीमा बोटमा रोग फैलने गरेको छ ।