पु.समाचार

रुपन्देहीमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

बुटवल । रुपन्देहीमा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । एक प्रहरी घाइते भएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा प्रहरीले गए राति गस्ती गरिरहेको थियो । त्यही बेला भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली प्रहरीमाथी पहिले गोली चलाएका थिए । मृत्यु हुनेमा तस्कर समूहका एक सदस्य रहेको प्रहरीले दावी गरेको छ ।

प्रहरीलाई गोली हानि भागिरहेका बेला प्रहरीले जवाफी कारवाही गरेको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले बताए । गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् भने तस्कर समुहका एक जनाको मृत्यु भएको छ ।

घटना राति करिब १२ बजे घटको प्रहरीले बताएको छ । भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली प्रहार गरेका थिए ।

मृत्यु हुनेको पहिचान भने खुलेको छैन । उनी जवान रहेको तर घर ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागेपछि उनी घाइते भएका थिए । उपचारका लागि अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।