साहित्य

कवि न्यौपानेको ‘आलोक यात्रा’ सार्वजनिक

काठमाडौँ । कवि डा केदार न्यौपानेको आत्मकाव्य ‘आलोक यात्रा’ नामक कृति सार्वजनिक भएको छ ।नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा दिनेशराज पन्तले आज यहाँ आयोजित कार्यक्रममा उक्त कृतिको विमोचन गरे ।

सात अध्याय (सर्ग) मा विभाजित कृतिमा कवि न्यौपानेको जन्मथलो भोजपुर (गोगने) देखि कर्म आरम्भ गरेको दिला हुँदै धरान तथा काठमाडौँसम्मको शैक्षिक यात्रा र संघर्षका अनुभूतिलाई विम्बको रुपमा प्रस्तुत गरिएको छ ।

दैवज्ञराज न्यौपाने प्रतिष्ठानले प्रकाशनमा ल्याएको कृतिमा लेखकले दाजु चर्चित कवि दैवज्ञराज न्यौपानेको प्रेरणा, गोगनेको पाठशालाका आदिलाई झल्काएका छन् ।

यो काव्यमा पृष्ठभूमि, आरम्भ, उठान, उन्नयन, विस्तरण, सम्प्रेषण र सश्लेषण गरी सात अध्याय तथा ४५२ श्लोक समेटिएको छ । ‘४५२ उपजाति छन्दका र सात शार्दूलविक्रीडित छन्दका श्लोकहरु प्रयोग गरी लेखिएको काव्यलाई संस्कृत काव्यशास्त्रको वर्गाीकरणका आधारमा हेर्दा खण्ड काव्य भन्न सकिन्छ’ भनेर डा माधवप्रसाद पोखरेलले पुस्तकको भूमिकामा उल्लेख गरेका छन् ।

सो अवसरमा प्राज्ञ प्रा पन्तले न्यौपानेको वौद्धिकता र व्यावहारिक अनुभूति झल्किने कृति नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण सिर्जना थपिएको बताए।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा डा शिवकुमार राईले कवि दैवज्ञराज न्यौपानेको कृतिको संरक्षणमा सबै बौद्धिक समुदाय सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।

कृतिको समीक्षा गर्दैै प्रा डा बद्रीविशाल भट्टराईले न्यौपानेको आत्मकाव्य आलोक यात्राले कविको जन्मथलो, पारिवारिक पृष्ठभूमि, मावलीघरमा विताएको पललाई सटिक र सरल ढङ्गले प्रस्तुत गरिको कृति पाठकका लागि सान्दर्भिक छ भने ।

लेखक न्यौपानेले दाजु कवि दैवज्ञराज न्यौपानेको सिर्जनाको सस्मरणलाई पनि कृतिले समेटेको उल्लेख गरे ।

साहित्यिक काव्यका हिसाबले न्यौपानेको यो पहिलो कविता हो । यसअघि उहाँका ‘सपना देख्नेहरुका लागि’ गद्य कविता सङ्ग्रह, ‘हिउँको छायामुनि‘ गीति कविता सङ्ग्रह,‘चिरन्तन’ छन्दोवछ कविता सङग्रह,‘ट्याम्केको काख’ कविता सङग्रह आदि कृति प्रकाशित छन् ।