समाचार

विधि र प्रक्रिया मिचिएको भन्ने उज्वल थापाको आरोप झुटाः रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा समूहले पार्टी फुटाएर गएपनि आफ्नोे अभियान नरोकिने बताएका छन् ।

पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा विमति भए पनि पार्टी नै छाडेर गएकामा चिन्ता व्यक्त गरे । पार्टीका संयोजक मध्येका उज्वल थापासहित १६ जनाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता गरेका छन् । उनले हिलो छ्यापाछ्याप गर्ने पक्षमा आफू नरहेको जानकारी गराए ।

“पार्टी छोडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको छ, तर म कसैलाई आरोप लगाउने पक्षमा छैन, मैले पनि आरोप लगाएँ भने धेरै हुन्छ”, उनले भने । संयोजक मिश्रले आफ्ना कमीकमजोरी स्वीकार गर्दै पार्टी फुटाएर जानेले पार्टीमा विधि र प्रक्रिया मिचिएको भनेर लगाएको आरोप झुटा भएको प्रस्ट पारे ।