राजनीति

डा केसी र सरकारबीचका सम्झौता सरकारले पूर्णत पालना गर्नुपर्छः उपसभापति गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सङ्घीयता कार्यान्वयनमा राज्यको महत्वपूर्ण भूमिका रहने बताएका छन्। विमानस्थलमा यहाँ आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली जनताको ठूलो बलिदान र संविधानसभाबाट ल्याइएको सङ्घीयता कार्यान्वयनमा नेपाली काङ्ग्रेसको सहयोग रहने बताए । उनले आगामी माघ १० गते हुने पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टीभित्र दिगो एकता कायम हुने चर्चा गर्दै अब पार्टीभित्र एकताको कुनै विकल्प नरहेको प्रष्ट पारे ।

नेता गच्छदारले डा गोविन्द केसी र सरकारबीच विगतमा भएको चिकित्सकसम्बन्धी सम्झौता पालना गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई वाइड बडी विमान विवादमा जोड्नु गलत भएको उल्लेख गर्दै उनले लेखा समितिले विमान खरीद अनियमितासम्बन्धी छानबिन कार्य गरिरहेकाले टुङ्गोे लाग्नु अगावै छानबिन आयोग गठन गर्नु आवश्यक नभएको बताए ।