प्रदेश 1

हत्या आरोपमा दुई जना कारागार चलान

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। गाईले बाली खाएको विषयमा विवाद हुँदा ३२ वर्षीय प्रतापसिंहको हत्या गरिएको थियो।

गोलीसहित रिभल्वर फेला 

ताप्लेजुङ प्रहरीले तीन राउन्ड गोलीसहित एक थान रिभल्वर फेला पारेको छ। जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार गस्तीमा खटिएको प्रहरीे टोलीले फुङलिङ नगरपालिका–७ को जङ्गलबाट उक्त रिभल्वरसहित गोली फेला पारेको हो।

ढुङ्गाको पहरामा च्यापभित्र प्लाष्टिकको झोलाभित्र राखिएको अवस्थामा उक्त हतियार फेला पारिएको तर सो हतियार लुकाउने व्यक्ति फेला नपरेकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।