समाचार

देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यकः डा. भट्टराई

उर्लाबारी । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले देशलाई समृद्ध बनाउन सबै जाति र धर्मबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् ।

झापाको दमक नगरपालिका–४ स्थित भट्टराई कुलवंश प्रतिष्ठानको रजत महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले इतिहासदेखि नै मिलेर बस्दै आएका सबै जाति र धर्मबीच एकता रहि रहन आवश्यक रहेको बताए ।

देशका सबै जाति र धर्मलाई अधिकार सम्पन्न गराउँन १० वर्षे जनयुद्ध लडेको स्मरण गराउँदै उनले राजनीतिक परिवर्तन भए पनि देशलाई समृद्धिको दिशामा लैजान कठिनाइ भइरहेको धारणा राखे । भट्टराई कुलवंश प्रतिष्ठानलाई मठमन्दिर र धार्मिकस्थलको रुपमा मात्र नभएर जनतालाई रोजगारी प्राप्त हुने प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद योगेश भट्टराईले वर्तमान सरकारले नै देशलाई समृद्धिको यात्रामा डो¥याउने दाबी गर्नुभयो । वर्तमान सरकारले तत्काल परिणाम निकाल्न नसकेपनि विस्तारै यसको परिणाम देखिने उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, प्रदेशसभा सदस्य कुलप्रसाद साम्बा लिम्बु, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले मन्तव्य राखेका थिए । आजदेखि शुरु भएको सो महोत्सव कार्यक्रम यही पुस २९ गतेसम्म चल्नेछ । महोत्सवमा देशभरका भट्टराई कुलवंशका प्रदेश, जिल्ला र नगर समितिका साथै बर्मा, आसाम, सिक्किम र बङ्गाल राज्य समितिबाट पनि सहभागी छन् । विसं २०५० सालमा स्थापना गरिएको सो प्रतिष्ठानको ५ बिघा १२ धुर जग्गा रहेको छ ।