शिक्षा

निजी क्षेत्रबाट कृषि क्याम्पस

परासी । कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् ।

पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सुनवल–१२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड मेनेजमेन्ट कलेजलाई कृषि क्याम्पस सञ्चालनका लागि सम्बन्धन दिएको हो ।

चार वर्षको प्रयासपछि सम्बन्धन प्राप्त गर्न सफल भएको क्याम्पसका अध्यक्ष प्रेम न्यौपानेले जानकारी दिए। स्नातक तहको चारवर्षे कक्षा सञ्चालन गर्ने अनुमति पाएको उक्त क्याम्पसले एक सेमेस्टरमा ५० विद्यार्थी अध्यापन गर्न पाउने छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले यहाँ पढ्न सक्छन् । चारवर्षे कोर्षका लागि विद्यार्थीले रु एक लाख धरौटी फिर्ता हुने गरी कूल रु सात लाख खर्च गर्नुपर्ने हुन्छ ।

विश्वविद्यालयकै समय तालीकाअनुसार कक्षा सञ्चालन हुने उक्त क्याम्पसमा भर्ना हुन अहिले विद्यार्थीको चाप बढिसकेको अध्यक्ष न्यौपानेले बताउनुभयो । प्रदेश राजधानीको नजिक, पहाडी जिल्लालाई पायक पर्ने, भारतको पनि नजिक भएकाले नेपालका विभिन्न जिल्लासहित भारतबाट पनि उक्त क्याम्पसमा विद्यार्थी पढ्न आउने क्याम्पसको विश्वास छ ।

शुक्रबार पनि पूरा दिन कार्यालय खुला

पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवामा व्यापक सुधार गरेको छ । कार्यालय शुक्रबार पनि पूरा दिन सञ्चालन हुन थालेको छ भने सेवाग्राहीको काम एकै दिनमा सक्ने गरी सेवाप्रवाह शुरु गरेको छ ।

कागजात र प्रक्रिया पुगेका सेवाग्राहीको काम सोही दिनमै सक्ने गरी सेवा प्रदान गरिरहेको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार गत शुक्रबारदेखि जिल्ला प्रशासन कार्यालय शुक्रबार पनि पूरा दिन सञ्चालन हुन थालेको हो ।

जिल्लामा अन्य कार्यालय शुक्रबारका दिन दिउँसो ३ बजेसम्म मात्र खुल्छन् भने जिल्ला प्रशासन ४ बजेसम्मै खुल्ने गरेको छ । गर्मी मौसममा ५ बजेसम्म सञ्चालन हुने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।