प्रदेश 1

गाउँपालिकालाई भवन बनाउन निःशुल्क जग्गा प्रदान

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि आवश्यक जग्गा स्थानीयवासीले निःशुल्क उपलब्ध गराएका छन् । गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयवासीले रु ६० लाख बराबरको छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।

गाउँपालिकाको केन्द्र औँशीबजार नजिकै भवन निर्माणका लागि छ रोपनी जग्गा प्राप्त भएको र सो जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेशन पाससमेत गरिसकिएको गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए । उनका अनुसार गाउँपालिकालाई स्थानीय होमप्रसाद कोइराला, गङ्गा राई, अमृतबहादुर लिम्बू र जयप्रसाद लिम्बूले संयुक्तरुपमा रु ३० लाख बराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् ।

यस्तै स्थानीयवासी शेरबहादुर थापाले स्व श्रीमती तिलरुपाको स्मृतिमा रु ३० लाख बराबरको तीन रोपनी जग्गा उपलब्ध गराउनुभएको छ । जग्गा प्राप्तिपछि अब गाउँपालिकाको आफ्नै भवन निर्माणका लागि पहल थालिने अध्यक्ष चोङवाङले बताए । गाउँपालिकाको आफ्नै भवन नहुँदा भाडाका लागि मात्रै गाउँपालिकाले लाखौँ रुपैयाँ खर्च गरिरहेको छ । भाडाको घरमा साँघुरा कोठा भएकाले काम गर्नसमेत असजिलो भइरहेको छ ।