बाग्मती

अवैधरुपमा लगाएको गाँजाखेती नष्ट गर्ने अभियान सुरु

सिन्धुली । सिन्धुलीमा अवैधरुपमा लगाइएको गाँजाखेती नष्ट गर्ने अभियान चलाइएको छ । जिल्लाको मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा गाँजा नष्ट गर्ने अभियान प्रहरीले चलाएको हो ।

अवैध गाँजाखेती भएको जानकारीअनुसार पुस २१ गतेदेखि गाँजा नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । आजसम्म ३७ बिघाको गाँजा नष्ट गरिएको छ । कूल ५४ प्रहरीले त्यस क्षेत्रको गाँजा फँडानीसँगै नष्ट गर्ने अभियान चलाएको प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा अझै धेरै स्थानमा गाँजा लगाइएको भन्ने सूचना आएकाले स्थलगत रुपमा प्रहरी परिचालन गरी गाँजा नष्ट गर्ने काम जारी रहने प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा पाँच दिनसम्म प्रहरी टोली परिचालन हुनेछ । गाँजाखेती भएका जग्गाधनीले अन्यन्त्रका मानिस आएर गाँजाखेती गरेको बताउने गरेका छन् । गाँजाखेती गर्न स्थानीयवासीले जग्गा भाडामा दिएको पाइएको र आवश्यक अनुसन्धान भइरहेको छ । यसअघि पनि मरिण गाउँपालिकामा लगाइएको ६० बिघाको गाँजा प्रहरीले नष्ट गरेको थियो ।

अहिले गाँजा फँडानी गर्ने क्रममा प्रहरी टोली नै बिरामी परेकाले हटाँैडाबाट थप २५ प्रहरी टोली माग गरिएको र त्यो टोली आजै आइपुग्ने जनाइएको छ ।

मकवानपुरमा प्रहरीले गाँजा तस्करले लगाएको खेती नष्ट गर्ने क्रम बढेसँगै गाँजा तस्कर सिन्धुलीका दुर्गमस्थलको पहिचान गरी केही वर्षदेखि व्यावसायिक रुपमा गाँजाखेती गर्दै आएका छन् । गाँजाखेतीबाट मनग्य आम्दानी हुने प्रलोभनमा त्यस क्षेत्रका स्थानीयवासी पनि अरु बाली छाडेर गाँजाखेतीतर्फ आकर्षित भएको छन् । दुर्गममा जनसम्पर्क कम रहने र नियमन गर्ने निकायको नजर नपुग्ने भएकाले मरिण गाउँपालिका र हरीहरपुरगढी गाउँपालिकामा गाँजाखेती गर्ने तस्करको बिगबिगी रहेको छ ।

स्थानीयवासीले गाँजाखेतीमा काम गरेबापत ज्याला पाउँछन् भने गाँजाको व्यवसायीकरणका लागि भारतबाट कृषि प्राविधिकको टोली नै राखेर नर्सरी राख्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्नेदेखि गाँजाको भाले र पोथी छुट्याइ भाले गाँजा उखाल्ने काम हुने गर्दछ ।

गाँजाको भाले पोथी छुट्याउने कृषि जेटिए नेपालमा अहिलेसम्म नपाइने प्रहरीको भनाइ छ । भाले गाँजा सानैमा चिनेर नउखाले सबै गाँजा भाले हुने भएकाले गाँजा तस्करले कृषि प्राविधिक गाँजा खेती गरेकै स्थलमा राख्ने गरेको स्थानीयवासी बताउँछन् ।