गण्डकी प्रदेश

आगलागी पिडित परिवारलाई राहत उपलब्ध

गलकोट । बागलुङको ताराखोला गाउँपालिका–४ तारामा मङ्गलबार भएको आगलागीमा परी मृत्यु भएका तीन बालबालिकाका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले मृतक बालबालिकाका अभिभावकलाई बुधबार जिल्ला प्रशासन कार्यालयका तर्फबाट जनही रु एक लाखका दरले रू तीनलाख र गोठधनीलाई रु आठ हजार राहत रकम प्रदान गरेको छ । उनले समाजमा हुनसक्ने यस्ता खालका घटना न्यूनीकरण गर्न बालबालिकालाई पनि सचेत गराउनुपर्ने बताए ।

बालबालिका विद्यालयबाट छुटेर घर फर्कने क्रममा एक गोठको माथिल्लो तलामा गई आगो ताप्न लाग्दा आगलागी भइ स्थानीयवासी रुद्रबहादुर रोकाका छ वर्षीय रतिस रोका, डिलबहादुर घर्तीका छ वर्षया छोरी ऋतु घर्ती र चार वर्षीय छोरा आयुस घर्तीको मृत्यु भएको थियो ।