समाचार

यस वर्ष देशभर १ सय झोलुङ्गे पुल निर्माण गरिने

काठमाडौं । यो वर्ष एकसय झोलुङ्गे पुल निर्माण हुने भएको छ। स्थानीय पूर्वाधार विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले यो वर्षभित्रमा एक सय पुल निर्माण गर्ने लक्ष्य लिएको हो।

अहिले १ सय ४० पुल निर्माणाधीन अवस्थामा रहेको डिभिजनका इञ्जिनियर हुमाकान्त मिश्रले बताए। यो वर्ष निर्माण गरिने पुलमध्ये झन्डै ९० पुल पहाडमा नै छन् भने बाँकी तराईमा छन्। तत्काल मोटरबाटो नपुग्ने स्थानमा झोलुङ्गे पुल निर्माण भइरहेका छन्। उनले भने, ‘झोलुङ्गे पुलका लागि अहिले मोटरबाटो नभएको र अबका केही वर्षसम्म पनि मोटरबाटो नपुग्ने ठाउँलाई छनोट गरिएको छ।’

सडक, पुललगायतका विकास निर्माणका काममा ठेकेदारका कारणले पनि ढिलाइ हुने गरेको छ। ठेक्का सम्झौता अवधि सकिँदासमेत निर्माण सम्पन्न नगर्ने कम्पनीलाई जरिवानाको प्रक्रियासमेत थालिएको छ। अहिले निर्माणाधीन कतिपय पुलले पहिलेका तुइन विस्थापित गर्ने छन्।

झोलुङ्गे पुल निर्माण गर्ने स्थानमा सार्वजनिक जग्गा हुँदा विवाद नभए पनि निजी जग्गा भएका ठाउँमा पुल निर्माणमा अवरोध आउने गर्छ। उनले भने, ‘जग्गा विवाद भएका ठाउँमा बाहेक अरु ठाउँमा सक्ने लक्ष्य छ।’

डिभिजनले १ सय २० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण गर्छ भने त्यो भन्दा कम लम्बाइको पुल स्थानीय तहले निर्माण गर्छ।