शिक्षा

गरीबको विद्यालय आर्थिक अभावमा

नारायणपुर । दाङ घोराहीदेखि पाँच किलोमिटर दूरीमा पर्ने बराह क्षेत्र मावि सेवार वनगाउँ जङ्गलको बीचमा छ । विद्यालयका आठ भवनमध्ये पाँच जीर्ण अवस्थामा छन् । वर्षौं पहिले निर्माण गरिएका पुराना शैलीका ती भवनभित्र बसेर अध्ययन गर्छन् विद्यार्थी ।

घोराही उपमहानगरपालिका–१३ सेवारको सो विद्यालयलाई धेरैले चिने पनि विभिन्न समस्याले पिरोलिएको छ । यो वर्ष कुनै निकायबाट विद्यालयले अनुदान प्राप्त गर्न सकेको छैन । “रु १५ लाख ऋण छ, विद्यार्थी, महङ्गो शुल्क तिर्न सक्दैनन् भने सरकारबाट पनि अनुदान पाउन सकिएन, त्यहाँसम्म पुहँच छैन ।” प्रधानाध्यापक बाल्मी केसीले भने, “आर्थिक अभावमा विद्यालय चलाउन गाह्रो भएको छ ।”

विसं २०१७ मा स्थापना भएपनि २०३८ सालदेखि औपचारिक रुपमा सञ्चालन भएको सो विद्यालय स्थापना भएको ५८ वर्षसम्म प्राथमिक, निमावि हुँदै माध्यमिक त बन्यो तर विद्यालयको समग्र विकास भने हुन सकेन । यो वर्ष नगर शिक्षा कार्यक्रमबाट रु छ लाख ५० हजार विज्ञान प्रयोगशालाको कार्यक्रम भएपनि भवन अभावमा अहिलेसम्म स्थापना हुन नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी चौधरीले बताए ।

सशस्त्र दश वर्षे जनयुद्ध अगाडि विद्यार्थी सङ्ख्या अनुपातमा भवन राम्रै थिए । शिक्षक उत्साहित थिए भने शिक्षाको लहरले गाउँ शहर प्रभावित थियो ।’ प्रधानअध्यापक केसीले भने । वनको नजिकै रहेको वनगाउँ विद्यालयमा युद्धकै जगजगीका कारण विद्यालयको शिक्षण सिकाइ र विकास प्रभावित भयो । १० वर्षे युद्धले करीब १५ वर्ष विद्यालयको भौतिक विकासमा कुनै पनि काम हुन सकेन । विकासले शून्य १५ वर्षका कारण अहिले विद्यालय ऋणमा चलेको छ । “म आउँदा तीन सय पनि थिएनन् विद्यार्थी, अहिले ५२८ जना विद्यार्थी छन् । अभिभावकको मन जित्ने कोशिस गर्दैछौँ ।”