राजनीति

वाइडबडी खरिदमा संलग्नलाई कारबाहि हुनुपर्छ, उम्कन दिनुहुदैन: सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा दोषी देखिएका कोहि पनि व्यक्ति उम्कन नमिल्ने बताएका छन् ।

उनले वाइडबडी प्रकरणमा मुछिएका व्यक्तिलाई त्यसै छोडन पनि नमिल्ने बताए । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा उनले वाइडबडी विमान खरिद प्रकरणमा दोषी देखिएका जोकोहिलाई पनि तत्काल कारबाही गर्नुपर्ने बताएका हुन् ।

बैठकमा कांग्रेस नेताहरुले संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेको भन्दै कारबाही सिफारिस भएकाहरुको विषयमा कांग्रेसको पोजिसन के हो भन्दै सभापतिलाई प्रश्न समेत गरेका थिए ।

जवाफमा देउवाले भने, ‘मेरो पोजिसन भनेको यसमा संलग्न कोही पनि उम्कन हुँदैन । सम्बन्धित निकायले पनि थप छानबिन गर्नुपर्छ ।’ नेताहरुको प्रश्नको सटिक जवाफ दिँदै सभापति देउवाले लेखा समितिको प्रतिवेदन उचित भएको आशय ब्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै दुई पूर्वमन्त्री र वहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गरिसकेको छ ।