आर्थिक

सुमार्गीको अर्बौैं रकम झिक्न मिल्नेगरी दिएन सर्बोच्चले आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अजय सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानीको रकम नरोक्नु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सो उद्योगमा आएको लगानीमा आएको रकम नरोक्नु भन्ने अल्पकालीन अन्तरिम आदेश त्रुटिपूर्ण भएको उल्लेख गर्दै अन्तरिम आदेशलाई निरन्तरता दिने अस्वीकार गरेको हो ।

न्यायाधीश दीपकराज जोशीको इजलासले यही पुस १० गते सो सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले आजका लागि छलफल गर्न दुवै पक्षलाई बेलाएको थियो । सुनुवाईपछि पहिलो सुनुवाईमा दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

जोशीको इजलासले सो उद्योगको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी नरोक्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सुर्खेतमा रहेको सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर सुमार्गीको खातामा जम्मा भएको थियो ।