अन्तर्राष्ट्रिय

छ हजार भन्दा बढी शरणार्थी फर्के

दमासकस । सन् २०१८ को अक्टोबरबाट हालसम्म जोर्डनबाट ६ हजार ४०४ जना सिरियाली शरणार्थी फर्किएका राज्यद्धारा सञ्चालित समाचार समिति सानाले सोमबार जानकारी दिएको छ ।  सन् २०१९ को जनवरी शुरु भएयता मात्र ४०४ जना सिरियाली फर्किएका पनि सो समाचारमा जनाइएको छ ।

दुबै देशको सीमामा पर्ने नासिब जबेर इलाका पार गर्दै ती शरणार्थीहरु जोर्डनबाट सिरिया प्रवेश गरेका छन् । विद्रोहीका कब्जा रहेको हुनाले नासिब जबेर सीमा इलाकालाई सन् २०१५ बाट बन्द गरिएको थियो । सिरियाली सेनाले पुनः कब्जामा लिएपछि गत अक्टोबरबाट यस सीमा इलाकालाई खोलिएको छ ।

दैनिक रुपमा जोर्डनबाट सिरियाली शरणार्थी फर्किने क्रम बढेपछि यसको सरलीकरणको व्यवस्था सिरियाली सरकारले गर्दै आएको साना समाचार समितिले जानकारी दिएको छ ।

सिरियामा जारी द्वन्द्वको कारण करिब १४ लाख सिरियाली शरणार्थी जोर्डनको शरणमा रहदै आएका छन् । सिरियामा सन् २०११ मा यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो गृहयुद्धमा अल– कायदा र इस्लामिक स्ट्टेस जस्ता आतङ्ककारी समूह हाबी हुदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा परी ३ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृतयु भईसकेको छ । लाखौ व्यक्ति घाइते भएका छन् र लाखौले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।