अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किम चीन भ्रमणमा

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन ।  चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने गइरहेको अपेक्षित दोस्रो शिखर सम्मेलनको तयारीको रुपमा लिइएको छ । किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा त्यसतर्फ लाग्नुभएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम रेलमार्ग हुँदै चीन जानु भएको एएफपी समाचार समितिका पत्रकारहरुले जानकारी दिएका छन् ।
स्थानीय समाचार समयानुसार सोमबार बिहान १०ः५५ मा नेता किम चीन जानको लागि रेल चढ्नु भएको दक्षिण कोरियाको समाचार समिति योनहापले जानकारी दिएको छ ।

किमका साथमा श्रीमती री सोल जु सहित अरु उत्तर कोरियाली उच्चस्तरीय प्रमण्डल रहेको उत्तर कोरियाली समाचार समिति केसीएनएले जनाएको छ । किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच ऐतिहासिक दोस्रो शिखर वार्ता हुने समाचार सार्वजनिक भएको अवस्थामा नै किम चीन भ्रमणमा जानु भएको छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले अमेरिकी राष्ट्रपति ट्रम्पसँग दोस्रो शिखर सम्मेलनको पूर्व तयारीका लागि भन्ने समाचार पनि सम्प्रेषण गरेका छन् ।

गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । किमको यस पटकको चार दिनको चीन भ्रमणले उत्तर कोरिया र अमेरिकाबीचको ऐतिहासिक शिखर बैठक चाँडै हुँदैछ भन्ने अनुमानलाई थप सहयोग पुग्ने अनुमान गरिएको छ । यसै साताको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को भेट कहाँ गर्ने भनी चाँडै नै सार्वजनिक गर्ने बताएका थिए ।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको बैठकका लागि ठाउँ खोज्दै गरिएको जानकारी अमेरिकाले दिएको थियो । अर्को बैठक गर्ने बारेमा सहमति भइसकेको छ तर पनि यस बैठकको स्थान र मिति भने तय भएको छैन ।