पर्यटन/संस्कृति

पर्यटकीय क्षेत्र पुग्ने मार्ग जीर्ण

कावासोती । नवलपरासी पूर्व नवलपुरको पर्यटकीय क्षेत्र पुग्ने डण्डा–अमलटारी–कोल्हुवा सडक जीर्ण बन्दा यस क्षेत्रमा आउने पर्यटकलाई यात्रा गर्न समस्या भएको छ ।

अमलटारी घरबास, थारू अतिथि गृह, गङ्गेश्वर धाम, मध्यवर्ती र नारायणी आसपासका पर्यटकीय क्षेत्र जाने मुख्य मार्ग जीर्ण हुँदा यस क्षेत्रमा आउने पर्यटकलगायतका यात्रुलाई समस्या परेको हो । कावासोती १६ डण्डा हुँदै अमलटारी, मध्यविन्दु नगरपालिका कोल्हुवा र पनौतीसम्म पुग्ने यो सडक ठाउँठाउँमा भत्किएर जीर्ण बनेको छ । पूर्व पश्चिम राजमार्गदेखि करीब १० किलोमिटरको यो सडक भत्किएर खाल्डाखुल्डी हुँदा जीर्ण बनेको छ । लामो समयदेखि सडक जीर्ण भए पनि यसको मर्मतसम्भारमा भने कसैको ध्यान पुग्न सकेको छैन ।

बाह्य तथा आन्तरिक पर्यटकको मुख्य गन्तव्य अमलटारी घरबास, मध्यवर्ती क्षेत्र र नारायणी तटीय क्षेत्रको अवलोकन हो । कावासोती नगरपालिकाले सो सडक पर्यटकीय मार्ग भएकाले अघिल्लो आर्थिक वर्षमा नै आफ्नो नीति तथा कार्यक्रममा ‘ग्रिनरी सडक’का रुपमा विकास गर्ने योजना समावेश गरेको थियो तर उक्त नीति तथा कार्यक्रमअनुसार काम हुन नसकेकोमा यहाँका होटल व्यवसायीले गुनासो गरेका छन् ।

कावासोती–१६ का वडाध्यक्ष एकादत्त वस्तीले बाटोले सास्ती पाएको गुनासो जनस्तरबाट आइरहेको स्वीकार गर्दै अब छिट्टै बाटो बनाउन पहल गरिने बताए । नगरपालिकाले बनाउने भनेको चक्रपथ र शहरी विकास योजनाको सहयोगमा बाटो निर्माण गर्ने काम हुने उनको भनाइ थियो । अलि ठूलो योजना भएकाले समय लाग्ने बताइएको छ ।

महोत्सवमा रु तीन करोड कारोवार

एघार दिनसम्म नवलपरासी पूर्व नवलपुरको मध्यबिन्दु नगरपालिकामा भएको ‘प्रथम मध्यबिन्दु महोत्सव’मा रु तीन करोड ५० लाख बराबरको आर्थिक कारोवार भएको छ । ‘कला, संस्कृतिको संरक्षण तथा कृषि, पर्यटन, उद्योग, व्यापार प्रवद्र्धनका लागि मध्यबिन्दु महोत्सव’ भन्ने उद्देश्यसाथ सञ्चालित महोत्सवमा करीब एक लाख दर्शकले अवलोकन गरेको मध्यबिन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदार पराजुलीले जानकारी दिए ।

केही समय अघि मात्र स्थापना भएको सो सङ्घले यस क्षेत्रका उद्योग, व्यापार, कृषि उत्पादनको बजारीकरण, कला, संस्कृति, पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने भन्दै पुस १३ गतेबाट महोत्सवको आयोजना गरेको थियो । महोत्सव सोमबार समापन भएको हो । महोत्सवमा कृषि उत्पादन, विभिन्न अटो कम्पनीका कक्ष, खानाका परिकार, घरेलु तथा हस्तकलाका सामग्री, सेवामूलक संस्थाका प्रदर्शनी गरेर करीब २०० कक्ष थिए ।