प्रदेश 2

लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लहान । लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त दासलाई जिल्ला अदालत सिरहामा बुझाइने प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–१० स्थित धरमपुरमा स्थानीयवासीले बारीमा लगाएको करीब २०० बोट गाँजा फँडानी गरी नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारी सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरुपमा ल्याउँदै गरेको अवस्थामा करीब २६ हजार मूल्य बराबरको साडी कपडा बरामद गरेको छ ।

सिरहाको नवराजपुर गाउँपालिका–१ गोरुवाहाका अग्निपीडित परिवारलाई आज गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष विश्वमोहन यादव, उपाध्यक्ष शोभाकुमारी यादवलगायतका पदाधिकारी पीडित परिवारको घरमै पुगेर कम्मल, त्रिपाललगायतका राहत सामग्री वितरण गरे ।

स्थानीयवासी रामेश्वर यादवको घरबाट सोमबार सल्किएको आगो फैलिएर आगलागी हुँदा उनको दुई घर र गोरु, भैँसी, बाख्रालगायत पशु चौपाया, अन्नबाली तथा छिमेकी विन्देश्वर यादवको एउटा घर जलेर नष्ट भएको थियो ।

आगलागी भएको घटना थाहा पाएलगत्तै गाउँपालिका अध्यक्षसहितका पदाधिकारी घटनास्थल पुगेको र पीडित परिवारकै आवश्यकताअनुसार तत्कालका लागि गाउँपालिकाको तर्फबाट त्रिपाल, कम्मललगायतका समान उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेश्वरप्रसाद पटेलले जानकारी दिए ।