पर्यटन/संस्कृति

देशका उच्च पहाडी र हिमाली भेगमा हिमपात, जनजीवन प्रभावित

काठमाडौँ । मौसममा आएको परिवर्तनका कारण बैतडीसहित सुदूरपश्चिमका अधिकांस पहाडी जिल्लाहरुमा आइतबार रातिदेखि हिमपात शुरु भएको छ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ।

यस्तै दार्चुलाको दार्चुलाका उत्तरी क्षेत्रमा अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, तिङकरलगायतका ठाउमा हिमपात भएको छ। डडेल्धुराको भिमदत्त राजमार्गको शाहुखर्क , हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको हो।

हिमपात भएसँगै पहाडी जिल्लाहरुमा चिसोका कारण जनजीवन प्रभावित भएको छ। हिमपातका कारण चिसो बढेकाले यो समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

यो समयमा बालबालिकाहरुमा निमोनिया र वृद्धवृद्धाहरुमा दम, श्वासप्रश्वास सम्बन्धि रोग देखिन सक्ने भएकाले तातो तथा झोलिलो खानेकुराहरुमा खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्।

यस्तै काठमाडौं उपत्यकालाई घेरेका अग्ला डाँडासहित मुलुकका उच्च पहाडी र हिमाली भेगका धेरैजसो स्थानमा पनि हिमपात भएको छ । काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी, भक्तपुरको नगरकोट, मकवानपुरको दामन, दोलखाको कालिन्चोकलगायतका स्थानमा पनि सोमबार बिहानदेखि हिमपात भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिम वायुको प्रभावका कारण देशैभर वर्षा र उच्च पहाडी तथा हिमाली भागमा हिमपात भएको बताइन्। वर्षा र हिमपातसँगै जनजीवन प्रभावित बनेको छ।

पश्चिमको डडेलधुरा र दिपायल हुँदै आइतबार प्रवेश भएको पश्चिम वायुका कारण पश्चिम क्षेत्रका उच्च हिमाली भागमा आइतबार दिउसोदेखि नै भारी हिमपात भएको थियो। पश्चिमको अपी, सैपाल, बझांग, खप्तड, रारा, जुम्ला, शेफोक्सुन्डो, मुस्तांग, मनांग, गोरखालगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ।