बाग्मती

वाग्मती मुहानबाटै फोहर नगर्न जनजागरण अभियान

काठमाडौँ । मुहानदेखि नै उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउने उद्देश्यले जनजागरणमूलक अभियानलाई तीव्र बनाइएको छ ।

वाग्मतीको मुहानस्थित वाग्द्वारदेखिकै नदीलाई फोहर मिसिन नदिन वाग्मती सुन्दरता सरोकार मञ्चले गोकर्णेश्वर नगरपालिका–१ मा भेला गरेको छ । भेलाले श्रीहरी पोखरेलको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित वाग्मतीको मुहान क्षेत्र नगरपालिकाको वडा नं १ मै पर्छ ।

समितिका अध्यक्ष पोखरेलले मुहान क्षेत्रदेखि नै फोहर हाल्न नदिन नागरिक संस्थाका रुपमा खबरदारी गर्ने बताउनुभयो । वडा अध्यक्ष राम मानन्धरले वाग्मती सफाइ अभियानलाई नगरपालिकाले नमूनाका रुपमा अघि बढाउने बताउनुभयो । मञ्चका संयोजक उत्तम पुडासैनीले स्वाभिमान र आत्मसम्मानलाई जोगाउने हो भने सफा नेपालका लागि घर घरबाट अभियान चलाउनुपर्ने बताए । कार्यक्रममा एकीकृत विकास समाजका सञ्चार विज्ञ निमेश रेग्मी लगायतका वक्ताले सफाइ अभियानलाई पहिलो प्राथमिकताका रुपमा राख्नुपर्नेमा जोड दिए ।

यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–९ मा नगरस्तरीय सरसफाइ समितिको नाममा मञ्चको वडासमिति गठन भएको छ । नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनी सिङ्खडाको उपस्थितिमा भेला भएको थियो । घरघरबाट सफाइ अभियान शुरु गरिनुपर्ने उनको भनाइ थियो । कार्यक्रममा वडाअध्यक्ष कुन्दन खड्काले सफाइ अभियानमा वडालाई नमूना बनाउने प्रतिबद्धता जनाउनुभयो । भेलाले वडा सदस्य डोलनाथ पोखरेलको संयोजकत्वमा नयाँ वडा समितिसमेत गठन गरेको छ । दुबै वडामा गठन भएका समितिले वडास्तरमै नदीमा फोहर नगर्न जनचेतनामूलक अभियान चलाउने जनाएका छन् ।