समाचार

चौधरीको सपथको राप्रपाद्वारा विरोध

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रहेका रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको सपथ गराउने कार्यप्रति विरोध जनाएको छ ।

पार्टीका नेता भुवन पाठकले जारी गर्नुभएको विज्ञप्तिमा विसं २०७२ भदौमा टिकापुरमा भएको घटनाका अभियुक्त चौधरीलाई सपथ गराउने कार्यले कानूनी राज्यको सिद्धान्तप्रति उपहास भएको जनाएको छ ।

उक्त घटनामा सात प्रहरी तथा अढाई वर्षे बालकको मृत्यु भएको थियो । घटना लगत्तै फरार चौधरीले निर्वाचन आयोगमा वारिसनामार्फत उम्मेदवारी दर्ता गराइ विसं २०७४ मङ्सिर २१ मा भएको चुनावमा कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचनपछि अदालतमा आत्मसमर्पण गरेका चौधरीलाई प्रहरी हिरासतमा राखिएकामा आज प्रतिनिधिसभा सदस्यको सपथ गराइएको थियो ।