राजनीति

भ्रष्टाचार गर्नेलाई कारवाही हुनैपर्छः चन्द्र भण्डारी

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले जहाज खरीद प्रक्रियामा भ्रष्टाचार गर्ने जो कोहीलाई पनि दण्डित गरिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा नेता भण्डारीले भ्रष्टाचार, अनियमितामा कोही कसैलाई पनि छुट दिन नहुने बताए । उनले भने, “देशलाई आघात पार्ने तथा राज्यको साधन स्रोत दुरुपयोग गर्ने जो कोही भए पनि बच्न सक्दैनन् । छानविन गरेर कानूनी दायरामा ल्याउनैपर्छ । कारबाही नभए नेपाली जनताले दबाब दिनुपर्ने समेत नेता भण्डारीको तर्क छ ।

काङ्ग्रेस सांसद अमरेशकुमार सिंहले संसदीय समितिले तथ्य र प्रमाणका आधारमा छानविन गरेको जानकारी दिँदै दोषी देखिएकामाथि कारवाही हुनुपर्ने बताए । उनले उच्चस्तरीय छानविन समिति बनाएर थप छानविन गर्नुपर्नेमा जोड दिए । प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति मातहतको उपसमितिले दुई वाइडबडी जहाज खरीदमा भ्रष्टाचार भएको भन्दै समितिलाई प्रतिवेदन बुझाएको थियो ।