अन्तर्राष्ट्रिय

नाइजेरियामा यस हप्ता जारी सैनिक कारबाहीमा २८० बोको हराम मारिए

नियामी । नाइजेरियामा बोको हराम विद्रोहीका विरुद्धमा यहाँको सेनाले गरेको कारबाहीका क्रममा यस हप्तामात्र २८० जना बोको हरामका लडाकू मारिएका छन् ।  बोको हरामका विरुद्धमा यहाँको सेनाले गत डिसेम्बर २८ यता गरेको कारबाहीमा परी ती लडाकू मारिएका समाचारमा जनाइएको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई कारबाहीमा परेका हुन् ।

नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु सैनिकले गरेको हवाई कारबाहीका क्रममा परेका हुन् । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार २०० जना भन्दा केही बढी लडाकू हवाई कारबाहीका क्रममा र ८७ जना स्थल सेनाले गरेको कारबाहीमा परी मारिएका हुन् ।

पश्चिमी अफ्रिकी नेताहरुले गएको नोभेम्बर महिनामा नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ । त्यसको केही समयपछि नाइजेरियामा यति धेरै संख्यामा बोको हरामका लडाकूहरु मारिएको समाचार आएको छ । यस पटकको यो कारबाही उक्त लेक चाड क्षेत्रमा नै बढी मात्रामा केन्द्रित भएको बताइएको छ ।

यो कारबाही रक्षात्मक रुपमा भएको नाइजेरियाली सेनाले जनाएको छ । नाइजेरियाली सेनाका अनुुसार उक्त क्षेत्रमा भएको यस कारबाहीमा यहाँको कुनै पनि सैन्य सदस्यले ज्यान गुमाएका छैनन् । नाइजेरियामा यहाँका बोको हरामले सन् २००९ देखि नै हिंसात्मक हमला शुरु गरेका थिए । त्यसयता यहाँका करिब २७ हजार नागरिकले ज्यान गुमाई सकेका छन् । यस हिंसामा परेकाहरुलाई उद्वार गर्दै शान्ति वार्ता गर्नुपर्ने बताएको भए पनि बारम्बारका यस्ता प्रयासहरु सफल हुन सकेका छैनन् ।