कृषि

कृषिमा आधुनिकीकरण आवश्यकता छः राष्ट्रपति भण्डारी

सुरुङ्गा । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिमा व्यापार घाटा हुनु राम्रो नभएको भन्दै कृषि पेशामा आधुनिकीकरणको आवश्यक रहेको बताएकी छन् ।

उहाँले कृषिप्रधान देशको ख्याति कायम राख्न र उत्पादकत्वलाई बढावा दिन कृषिमा सबल नेतृत्व आवश्यक रहेको बताउँदै अब स्थानीय सरकारले कृषि र उद्योगधन्दाको नेतृत्व लिनुपर्ने धारणा राखिन् ।

झापाको शिवसताक्षी नगरपालिका–७ मा रहेको चन्द्रडाँगी कृषि विकास फार्म आज अवलोकन गर्दै राष्ट्रपति भण्डारीले कृषिप्रधान देशमा नै कृषिजन्य वस्तुमाथिको परनिर्भरता रहनु दुखद् भएको बताईन् । अहिले कृषि र उद्योगधन्दा सञ्चालनमा सङ्घ र प्रदेश सरकारबीच हानथाप भइरहेको भन्दै उनले अधिकार र कार्य विभाजन गर्दा सोचविचार गरेर मात्रै गर्न सरकारलाई सुझाव दिईन् ।

चौरासी बिघा अर्थात् ५२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त फार्मले २५ हेक्टर क्षेत्रफलमा विभिन्न जातका बीउ उत्पादन गरी कृषकलाई वितरण गर्दै आएको छ । फार्मले वार्षिक ८० टन धानको बीउ, १० टन मकै, १० टन गहुँ र चार टन जै घाँसको बीउ उत्पादन गर्दै आएको छ । फार्मले कृषि अनुसन्धान केन्द्र (नार्क) ले सिफारिस गरेको मन्सुली, राधा ११, राधा १२, आरपी १०१७, हर्दीनाथ, लालका बासमती, चैते २, तरहरा १ लगायत जातका धानको बीउ उत्पादन गर्ने गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमा आउनुभएका राष्ट्रपति भण्डारीले यसअघि आजै गौरादहस्थित महारानीझोडा साना किसान सहकारी संस्थाले प्रवद्र्धन गरेको नमूना एकीकृत खेतीको समेत अवलोकन गरेकी थिईन् ।