विचार/ब्लग

आतंककारी घोषणा गरेपनि सधैं अन्यायको विरुद्ध

वाफ रे वाफ, अन्यायपूर्ण तथा अपराधी खालको कर्मचारी समायोजन भनी भ्रम फैलाउने र देशद्रोही हुने अपराध नगर रे ।

यसलाई स्वागत गर र लुरुलुरु समायोजनमा जान पाउँ भनी फारम भर रे ।

समायोजनमा एकै प्रकृतिका कर्मचारीलाई सेवक र मालिकको दर्जा दिने र सार्वजनिक नेतृत्वको जिम्मेवारीको दुरुपयोगको अवस्थाको अपराधको जन्मदाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेतृत्वलाई असल अभिभावक मान्नु पर्ने रे ।

कर्मचारी समायोजनमा त्याग गर्नु पर्छ भनी वैष्णव धर्मीलाई धराने कालो सुँगुरको मासुको प्रसाद हो खाउँ खाउँ भन्नेहरु धर्म निरपेक्षवादी रे ।

सामान्य प्रशासन नै कर्मचारीको मालिक रे ।
मालिक हुन सामान्य प्रशासनको सेवामा छिर्नु पर्ने रे ।
डाक्टर इन्जिनियर कृषिविज्ञ पशुविज्ञ शिक्षा प्राविधिक जस्ता पदमा जागीर खानु अपराध हो रे ।

कर्मचारी समायोजनमा जसको पद जहाँ र जसरी राखिन्छ ।
प्राविधिक र विषयगत कर्मचारीले मौन स्वीकार गर्नुपर्दछ र विरोधको अधिकार स्वजातीलाई मात्र हुन्छ रे ।

खाना बासी त के ….. नै दिइएको होस् सौतेनी व्यवहार गर्ने आमासँग कुनै प्रश्न गर्न नपाइने रे ।

विष नै भएपनि प्रसादका रुपमा ग्रहण गर्नु पेसागत आचरण नैतिकता र अनुशासन हुने रे ।

यस्तो वाक स्वतन्त्रता र नागरिक अधिकार चाहिएको छैन ।
वाफ रे मेरा गणतन्त्रका नयाँ मालिकहरुप्राकृतिक र सामाजिक न्यायकोलागि आवाज उठाउँदा अपराध हुने रे ।
यो अपराध र देशविरुद्ध भए विरोध गर्नेहरुको अभिलेख राख्नुस् र कार्वाहीको तयारी गर्नुस् ।

तर तपाईको घरको कानमा कौडा भिरेको पुर्खौली दासलाई जस्तै सार्वभौम नागरिकलाई नतर्साउनु होस् ।

इमान्दार नैतिक र आफैँ अनुशासित तथा देशप्रति जवाफदेही हुनुहुन्छ भने जागीरबाट हटाउने तयारी गर्नुहोस् तर धम्कीका भाषामा समायोजन सफलताको आसा नगर्नुहोस् ।

साँच्चो अर्थमा सबै कर्मचारीको समायोजन गर्न स्वतन्त्रविज्ञहरुको उच्चस्तरीय आयोगबाट केन्द्रीय प्रादेशिक र स्थानीय तहका स‌ंरचना तथा जनशक्तिको प्रक्षेपण र खटनपटनको व्यवस्था होस् ।

अन्यथा जो समायोजनमा जाने होइन उसैलाई तालाचाबी वा डाडु पैन्यू दिने र आफ्ना हात जगन्नाथको अवस्थाको विभेद गर्ने संघीय मामिला तथा सामान्य प्रशासनको ज्यादती र अत्याचारलाई असल अभिभावक स्वीकार गर भन्नु अघोरीको भान्सामा वैष्णवका लागि रोजेको परिकार छ भनेको हो भन्दा मलाई नेपालको जुन कानुन लगाएर दण्डित गर्न मिल्छ सो गरियोस् । समायोजन फारम भरिदैँन । सरकार तथा संसदको समेत अवज्ञा गरेकोमा आतंककारी नै घोषित किन नगरियोस् तर अन्यायको विरुद्ध जीवन नै समर्पण गर्ने छु ।

(विचार दिने व्यक्ती शिक्षा मन्त्रालयका उपसचिव हुनुहुन्छ । )