समाचार

नख्खु कारागारका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा

ललितपुर । नख्खु कारागारका कैदीबन्दीमध्ये थोरै मात्रै आयमूलक काममा लागेका छन् ।  झण्डै १५ प्रतिशत कैदीबन्दी मात्रै आयमूलक काममा संलग्न रहेको कारागार प्रशासनले जनाएको छ । कारागारभित्रै कुनै पनि उद्योग नहुँदा बाहिर सम्पर्कका आधारमा यी कैदीबन्दीले काम गरिरहेको जेलर जीवन दुलालले बताए ।

कैदीबन्दी पटक÷पटक सरुवा भइरहने हुनाले बाहिरका व्यवसायीले कच्चापदार्थमा धेरै लगानी गर्न चाहँदैनन् । कारागारभित्रै कुनै पनि व्यवसाय छैन र तालीम पनि पर्याप्त छैन । उनले भने, “एक वर्षमा रु एक दुई लाखको तालीमले मात्रै उनीहरूलाई दक्ष पनि बनाउँदैन ।”

कारागारमा रहेका कैदीबन्दीले अहिले पोते उन्ने, मुढा बनाउने, सिलाइ गर्ने, सारीमा पिको गर्ने काम गरिरहेका छन् । सीप भएका कैदीबन्दी आफैँले फर्निचर खोलेर काम गरिरहेको उनले बताए । कारागारको पुनःनिर्माण भइरहँदा त्यो काममा पनि भित्रकै कैदीबन्दी लागेका छन् । उनले भने, “अझै धेरै किसिमका काम ल्याउने हो भने धेरैलाई संलग्न गराउन सकिन्छ ।”

कारागारका कैदीबन्दी काममा संलग्न भइरहँदा उनीहरू र कारागार दुबैका लागि राम्रो हुने कारागार प्रशासनले जनाएको छ । यहाँका धेरै कैदीबन्दी काममा संलग्न हुँदा उनीहरूसँग खाली समय हुँदैन र झैझगडाको सम्भावना कम हुन्छ ।