खेलकुद

‘ए’ डिभिजन लिगः एपिएफ र सरस्वती विजयी

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दुई विभागीय टोलीबीचको खेलमा एपिएफले बाजी मारेको छ । हल्चोकस्थित घरेलु मैदानमा १२औँ चरणको अन्तिम खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ४–१ गोलले पराजित गर्दै महत्वपूर्ण तीन अङ्क जोडेको छ । एपिएफको जितमा युवराज खड्काले दुई तथा राजेन्द्र रावल र हरि कार्कीले एक/एक गोल गरे । खेलको २१औं मिनेटमा एपिएफले राजेन्द्रको गोलबाट अग्रता लिएको थियो । खेलको २८औं मिनेटमा एपिएफले अग्रतालाई दोब्बर बनायो ।

हरिले डिबक्स भित्रबाट हानेको बल सिधै गोल हुन पुगेको थियो । खेलको ४३औं मिनेटमा हेडमार्फत युवराजले गोल गर्दै एपिएफलाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा तेज तामाङको उत्कृष्ट पासमा अजित भण्डारीले पुसिलसका लागि गोल गर्दै अन्तर घटाएका थिए ।

दोस्रो हाफको ८५औँ मिनेटमा युवराजले गोल गर्दै एपिएफको जित सुनिश्चित ग¥यो । एपिएफले पुलिसलाई अङ्क तालिकामा पनि उछिनेको छ । एपिएफले १२ खेलमा छ मा जित र दुई बराबरीसँगै २० अङ्क जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पुलिस समान खेलबाट १८ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा झरेको छ ।

यसैगरी लिगअन्तर्गत आजै एन्फा मैदानमा भएको खेलमा सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा शुरुआती अग्रता जोगाउन नसक्दा च्यासलले हार व्यहोर्नुपर्यो । सरस्वतीलाई जित दिलाउन मनिस थापा र फ्रान्सिसले एक एक गोल गरे । च्यासलका सजिन थापा मगरले एक गोल गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

खेलको १४औँ मिनेटमा सरस्वतीका किपर प्रदीप भण्डारीले क्लियर गरेको बल सजिनलाई लागेर गोल हुँदा च्यासलले सुरुआती अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा सरस्वतीले दुई गोल गर्न सफल भयो ।

खेलको ८६औँ मिनेटमा मनिसले गोल गरे । त्यसपछि खेलको इन्जुरी समयमा फ्रान्सिसले गोल गर्दै सरस्वतीलाई २–१ को महत्वपूर्ण जित दिलाए । हारसँगै च्यासलले १२ खेलबाट १५ अङ्क जोड्दै आठौँ तथा १३ अङ्क जोडेको सरस्वती लिगको नवौँ स्थानमा रहेको छ ।