मनोरञ्जन

नारायण गोपाल युवा सङ्गीत पुरस्कार सङ्गीतकार जङ्गमलाई

काठमाडौँ । यो वर्षको ‘नारायणगोपाल युवा सङ्गीत पुरस्कर’ युवा गायक तथा सङ्गीतकार अजर जङ्गमलाई प्रदान गरिने भएको छ ।पुरस्कार छनोट समितिका अध्यक्ष एवं वरिष्ठ गीतकार विश्व बल्लभको अध्यक्षतामा बसेको बैठकले जङ्गमलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको राष्ट्रिय युवा सेवा कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । सो पुरस्कारको राशि रु ४० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

यस्तै ‘अरनिको युवा कला पुरस्कार’ यो वर्ष युवा कलाकारद्वय समुद्रमान श्रेष्ठ र सुन्दर लामालाई संयुक्तरूपमा प्रदान गरिने कोषले जनाएको छ । उक्त पुरस्कारको राशि संयुक्तरूपमा रु ५० हजार, स्वर्णपदक र प्रमाणपत्र रहेको छ ।

कोषद्वारा विसं २०४८ मा स्थापित ‘नारायण गोपाल युवा सङ्गीत पुरस्कार’ विविध साङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत, गायनका कलात्मकता एवं सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, सांस्कृतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पु¥याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रदान गरिँदै आइएको छ ।

कोषले राष्ट्रिय विभूति अरनिकोको स्मृति एवं सम्मानको साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न २०५७ सालमा ‘अरनिको युवा कला पुरस्कार’ स्थापना गरेको थियो ।