कर्णाली प्रदेश

४६ प्रतिशत बजेट पर्यटन क्षेत्रमा

सुर्खेत । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन क्षेत्रमा मात्र ४६ प्रतिशत बजेट रहेको बताएका छन्।

नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को पाँचौँ स्थापना दिवसको अवसरमा महासङ्घ कर्णाली प्रदेशद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशको पर्यटन विकास र योजना कार्यान्वयन अवस्था’ विषयक अन्तरक्रियामा पर्यटनमन्त्री बुढाले पर्यटन क्षेत्रमा बजेट कमी नभए पनि जनशक्ति अभावले कार्यान्वयनमा चुनौती देखिएको बताए ।

“सङ्घ र प्रदेश सरकारले कुल रु एक अर्ब २३ करोड बजेट पर्यटन क्षेत्रमा विनियोजन गरेका छन्”, मन्त्री बुढाले भने, “यद्यपि शुरुको वर्ष र कर्मचारी अभावले नियमित विकासका गतिविधि सञ्चालनमा प्रभाव परेको छ ।” उनले कर्णाली सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को शुभारम्भ गरेपश्चात् यहाँ पर्यटकको चहलमा पहलमा वृद्धि आएको बताए ।

“गत भदौदेखि मङ्सिरसम्म रारा हेर्ने पर्यटक २० हजार पुगेका छन्”, उनले थपे, “कर्णालीका १० जिल्लाका प्राकृतिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीयस्थल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलन गर्न त बाँकी नै छ ।” रारा र से–फोक्सुण्डो वरिपरि पदमार्ग निर्माण गर्ने भन्दै उनले प्रत्येक जिल्लामा एक÷एक पर्यटकीय गन्तव्य निर्धारण गर्नुका साथै शैक्षिक पर्यटनलाई समेत प्राथमिकता दिने जानकारी दिए ।

मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले समृद्धि पर्यटनले निर्धारण गर्ने कुरामा जोड दिए। “कर्णालीको जलविद्युत, जडीबुटी, कृषि पर्यटनको पनि त्यतिकै सम्भावना छ”, उनले भने, “धार्मिक, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक पर्यटन प्रवद्र्धनमा मन्त्रालय लागि परेको छ ।” उनले आगामी दिनमा पर्यटन पत्रकार महासङ्घसँग सहकार्य गरेर पर्यटनका गतिविधि अघि बढाउने बताए ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माले योजना र लक्ष्यअनुसारको प्रगति हासिल गर्न कार्यान्वयनमा जोड दिन आग्रह गरे ।